२०८१ फागुन २५ गते
काठमाडौं । बेलायतमा बसोबास गर्ने अभिनेता टङ्क धमाला अहिले चर्चामा छन् । उनी अभिनित अंग्रेजी भाषाको फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलमा शुक्रबारदेखि प्रदर्शन भइरहेको छ ।
फिचर फिल्म ‘डेन्जरस गेम’, भारतीय फिल्म ‘एनिमल’ र नेपालको ‘सरौतो’मा समेत अभिनय गरेका धमालाको यो पछिल्लो एक्सन फिचर हो । जसमा उनी शीर्ष भूमिकामा छन् ।
विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको फिल्म ‘कामा’मा उनले हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा स्क्रीन सेयर गरेका छन् ।
फिल्ममा उनी सिपाहीको भूमिकामा छन्, जसले युद्धबाट फर्किएर घर आइपुग्दा श्रीमतीको मृत्युको खबर थाहा पाउँछ । त्यसपछि सिर्जना हुने घटनाक्रमले थ्रीलर फिल्मका दर्शकलाई भरपुर मनोरञ्जन दिने धमाला बताउँछन् ।
‘यो फिल्ममा मैले आर्मीको भूमिकाका लागि शारीरिक रुपमा फिट हुनेदेखि प्राविधिक पक्षलाई पनि ध्यान दिएर तयारी गरेँ । आर्मीले सोच्ने तरिका, शारीरिक हाउभाउ, उसको मानसिकतालाई ग्रहण गर्नका लागि मैले प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको थिएँ’, उनले भने ।
उनले बेलायती अभिनय प्रशिक्षक साइमन गिब्बनसँग प्रशिक्षण समेत लिएका छन् । इटलीमा सम्पन्न ‘मिलान इन्टरनेसनल फिल्म फेस्टिभल’मा भएको ‘कामा’को स्क्रिनिङमा उनले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।
उक्त प्रदर्शनमा समीक्षकले उनको अभिनयको प्रशंसा गरेका थिए । म्याड्रिड इन्टरनेसनल फिल्म फेस्टिभल २०२४’ मा सर्वाेत्कृष्ट अभिनेतासहित अन्य अवार्ड जितेको फिल्म ‘कामा’ले बेलायत र आयरल्याण्डका हलमा समेत राम्रो प्रतिक्रिया पाईरहेको छ ।
‘फिल्म अध्ययन गरेका कारण पनि कलाकारितालाई निरन्तरता दिइरहेको छु । नेपालीसँगै भारतीय बेलायती फिल्ममा काम गर्ने क्रममा मैले उनीहरुको कार्यशैलीलाई नजिकबाट बुझ्ने मौका पाएँ । यो अनुभवले मलाई आगामी दिनमा अभिनय यात्रामा मद्दत गर्नेछ भन्ने लागेको छ’, अभिनेता धमालाले भने ।
‘सरौतो’पछि उनलाई नेपाली फिल्मबाट अभिनयको प्रस्ताव नआएको भने होइन, यद्यपि, ‘कामा’को तयारीले गर्दा नेपाली फिल्ममा उनले पुनरागमन गर्न पाएनन् । यद्यपि अब उनी नेपाली फिल्मको लागि पनि तयार भएको बताउँछन् ।
‘नेपाली फिल्ममा सुहाउँदो भूमिका पाएमा म आफूलाई प्रस्तुत गर्न तयार भएको छु । संख्यात्मकभन्दा पनि गुणात्मक फिल्ममा देखिने मेरो चाहना छ’, उनले भने । बेलायती मोडल एवं एक्टर एजेन्सी लङफोर्ड एसोसियटसँग आवद्ध भएर काम गरिरहेका अभिनेता धमालाले केही नयाँ प्रोजेक्टको तयारी गरिरहेका छन् ।