२०८१ फागुन २४ गते
काठमाडौं । यसपाली अस्ट्रेलियाको नेपाली डायस्पोरा संगीतमय बनिरहेको छ । एकपछि अर्को ठूला ब्याण्डले यो मुलुकमा टूरको घोषणा गरिरहेका छन् ।
‘नेपथ्य’ले गतसातादेखि एक महिना टूर थालिसकेको छ । क्यानबेरादेखि सुरु नेपथ्यको टूर पर्थ, ब्रिसबेन, होबर्ट, एडिलेड, मेलबर्न हुँदै मार्च २९ मा सिड्नीमा गएर सम्पन्न हुनेछ ।
यो क्रममा, अर्को लोकप्रिय नेपाली लोकपप ब्याण्ड ‘कन्दरा’ पनि अस्ट्रेलिया टूरमा निस्किएको छ । ५ अस्ट्रेलियाली सहरमा ‘कन्दरा’ले प्रस्तुति दिने तय छ । यसका लागि ब्याण्डका अगुवा विवेक श्रेष्ठसहितका सदस्यहरू शुक्रबार राती त्यसतर्फ प्रस्थान गरेका छन् ।
आइतबार एडिलेडमा प्रस्तुति दिँदै ब्याण्डले अस्ट्रेलिया टूर थाल्दैछ । मेलबर्नमा १५ मार्च, क्यानबेरामा २२ मार्च, होबर्टमा २९ मार्च र ब्रिसबेनमा ६ अप्रिलमा प्रस्तुति दिने तय छ ।
यसअघि ‘कन्दरा’ले नेपालसहित बेलायत, युएई, कतार र हङकमा प्रस्तुति दिइसकेको छ । बेलायतबाट सुरु भएको कन्दराको अन्तर्राष्ट्रिय टूर मे र जुन महिनामा अमेरिका र क्यानडामा हुने अपेक्षा गरिएको छ । ‘पहिला घरदेश अनि परदेश’ नारासहित कन्दरा अहिले टूरमा ब्यस्त छ ।
ब्याण्डको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् ।