फिल्मप्रेमी बुफोनलाई नेपालका छायांकन थलो बारेको पुस्तक प्रदान

Dipa Bhatt

२०८१ फागुन १९ गते

काठमाडौं । विश्व फुटबलका महान गोलरक्षक जियानलुगी बुफोन यतिबेला नेपालमा छन् । इटालीको राष्ट्रिय फुटबल टीमका पूर्वकप्तान समेत रहेका बुफोन काठमाडौंमा जारी केपी ओली कपको फाइनलमा प्रमुख अतिथिको रुपमा आएका हुन् ।

यतिबेला नेपाली मिडिया र सामाजिक संजाल बुफोनको काठमाडौं भ्रमणले भरिएका छन् । आफू नेपालमा सानैदेखि आउन चाहेको बयान बुफोनले दिएका छन् । उनले नेपालबारे धेरै कुरा थाहा पाएको समेत बताएका छन् ।

बुफोन फिल्मप्रेमी पनि हुन् । फुर्सदको समयमा आफूले क्लासिक र ड्रामाटिक जनराका फिल्म हेर्ने कुरा उनले थुप्रै अन्तर्वार्तामा बताइसकेका छन् ।

बुफोनले सन् २००० को हलिउड फिल्म ग्लेडिएटरलाई आफ्नो मनपर्ने फिल्म बताएका छन् । यो फिल्मले एक फुटबल खेलाडीलाई चाहिने नेतृत्व, लचिलोपन र सम्मानका विषयलाई समेटेको उनले बताएका छन् ।

उनले गहिरो मानवीय भावना र संघर्षको अन्वेषण गर्ने फिल्म हेर्न पनि रुचाउँछन् ।

यस्तोमा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले बुफोनलाई नेपालका छायांकन थलो समेटिएको पुस्तक ‘फिल्मिङ इन नेपाल’ प्रदान गरेका छन् । नेपालमा फिल्म पर्यटन प्रवद्र्धन गर्न यस्तो कार्यले सघाउ पुग्ने अध्यक्ष डीसीको भनाइ छ ।

बुफोनलाई सर्वकालीन महान् गोलरक्षकमध्ये एक मानिन्छ । इटालीले सन् २००६ मा विश्वकप जित्दा उनी प्रमुख खेलाडी थिए । करिब तीन दशक लगातार फुटबल खेलिरहेको कारणले पनि उनलाई धेरैले स्मरण गर्छन् ।

Sharing Is Caring:

Leave a Comment