२०८१ फागुन १९ गते
काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’को छायांकन सकिएको छ । गीतबाहेक कथावस्तुको छायांकन २९ दिनमा टुंगिएको निर्माता सरोज ओलीले बताए ।
अभिनेता हरिवंश आचार्यले पनि सहज ढंगले इन्डकल्याप भएको बताए । यसबारे उनले भने, ‘हाम्रो टिम एकदम राम्रो बन्यो । सम्पूर्ण कलाकार र प्रविधिकको सहज वातावरणले चाँडै छायांकन सम्पन्न हुन सक्यो ।’
हरिवंशको जन्मथलो काभ्रेको शंखुस्थित पनौती आसपासमा छायांकन सकिएको हो । सामाजिक र हास्यकथावस्तुमा बनेको फिल्म महजोडीको चर्चित पात्र हरिबहादुरको पात्रबाट प्रभावित छ । हरिवंशले पछिल्लोेपटक महजात्रामा पनि यो भूमिका निर्वाह गरेका थिए । हरिबहादुर दर्शकमाझ निकै रुचाइएको पात्रअन्तर्गत पर्छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज ओली र मोहितवंश आचार्य निर्माताको रुपमा छन् । प्रकाश सपुत, स्वस्तिमा खड्का, राजाराम पौडेल, किरण केसी, हरिहर शर्मा, पार्वती अधिकारी, दिब्यदेब पन्त, तारा शर्मा, दिनेश काफ्ले, सीता न्यौपानेको पनि अभिनय छ ।
फिल्मको प्रदर्शन आउने दशैंको फूल्पातिमा हुने जनाइएको छ ।