२०८१ फागुन १८ गते
काठमाडौं । अभिनेत्री आलिया भट्टले छोरी राहा कपुरका तस्वीर सामाजिक सञ्जालबाट हटाएकी छिन् । इन्स्टाग्रामबाट छोरीको सबै तस्वीर डिलेट गरेकी हुन् । अहिले राहाको अनुहार नदेखिने फोटोबाहेक फ्यानले सामाजिक सञ्जालमा राहाको तस्वीर हेर्न पाउने छैनन् ।
अभिनेत्रीको यो निर्णयमा उनका फ्यान पनि उनको साथमा छन् । अभिनेत्रीको इन्स्टाग्राम प्रोफाइल स्क्रोल गर्दा राहाका तस्वीर अब देखिनेछैनन् । जामनगर वा परिवारको पेरिस भ्रमणका पोस्ट गरिएका तस्वीर समेत हटाइएका छन् । एल्बममा राहा-आलियाको नयाँ वर्षको दिनको तस्वीर देखिए पनि अनुहार भने देखिँदैन ।
रिपोर्ट अनुसार अभिनेत्रीका फ्यानले उनको निर्णयको समर्थन गरिरहेका छन् । रेडिट सोसल मिडियामा एक प्रशंसकले समर्थन गर्दै लेखेका छन्, ‘म उनको शतप्रतिशत समर्थन गर्छु, म कहिल्यै आलियाको फ्यान थिइनँ । म प्रायः आलोचक भएको छु, तर नेटमा धेरै विलक्षण र अनौठो मान्छे छन् । आमाबाबुको रूपमा सुरक्षात्मक कार्यको रूपमा उनी जे महसुस गर्छन्, त्यो तिनीहरूले गर्नुपर्छ ।’
अर्को प्रयोगकर्ताले लेखेकी छिन्, ‘सैफ-जेहको घटनाले उनलाई असर गरेको छ । उनले पापाराजीलाई अबदेखि राहाको तस्वीर नलिदिन पनि भनेकी छन् । सामाजिक संजाल प्रयोगकर्ताले तस्वीर हटाउनुका कारणबारे अनेक कुरा उल्लेख गरेपनि, आलिया र रणवीर कपुरले यसबारे केही उल्लेख गरेका छैनन् ।
पछिल्लो समय रेखा थापा लगायतका नेपाली कलाकारले पनि सामाजिक संजालमा बच्चाको स्पष्ट अनुहार देखिने तस्वीर सेयर गरेका छैनन् । कतिपय विदेशी सेलेब्रिटीले सामाजिक संजालमा बच्चाको स्पष्ट अनुहार देखिने तस्वीर सेयर नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आएका छन् ।