४६ वर्षपछि दर्शकमाझ ‘सिन्दूर’, नारी दिवसमा प्रदर्शन गरिने

Dipa Bhatt

२०८१ फागुन १८ गते

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा ऐतिहासिक नेपाली फिल्म ‘सिन्दूर’लाई प्रदर्शन गरिने भएको छ । मंगलबार बिहान १० बजेदेखि चलचित्र विकास बोर्डको हलमा फिल्म स्क्रिनिङ गर्न लागिएको हो ।

बोर्डअन्तर्गतको महिला चलचित्रकर्मी सशक्तिकरण समितिले प्रदर्शन आयोजना गरेको हो । विश्व बस्नेतको अभिनय रहेको दोस्रो यो दोस्रो रंगिन फिल्म २०३६ सालमा रिलिज भएको थियो ।

काठमाडौंका हलमा सयुंक्त रुपमा ५२ हप्ता चलेको पहिलो सिल्भर जुब्ली फिल्मको निर्देशन प्रकाश थापाले गरेका थिए । यही फिल्मबाट गोपालराज मैनाली र बसुन्धरा भुसाल चंखे र नक्कली नामले परिचित भएका थिए भने नीर शाह पहिलो पटक खलनायकको भूमिकामा देखिएका थिए ।

यो फिल्मले उज्बेकिस्तानको फिल्म फेस्टिभलमा नेपालको प्रतिनिधित्व गरेको थियो । यसलाई नेपालमै डबिङ गरेको पहिलो फिल्म पनि मानिन्छ । उदितनारायण झाले पाश्र्वगायनमा मौका पाएको पहिलो फिल्म पनि यसैलाई मानिन्छ ।

उनले ‘हे नक्कली’ बोलको गीत गाएका थिए । नृत्य निर्देशक वसन्त श्रेष्ठले पनि नृत्य निर्देशन यही फिल्मबाट डेब्यु गरेका थिए । यो फिल्म अशोक हल पाटन, नवदुर्गा भक्तपुर, जय नेपाल काठमाडौँ, विश्वज्योति काठमाडौँ र रञ्जनमा चलेको थियो ।

बोर्ड अध्यक्ष दिनेश डीसीले महिला सशक्तिकरणको कथावस्तु भएकाले सो अवसरमा फिल्म प्रदर्शन हुन लागेको बताए । हलमा रिलिज भएको ४६ वर्षपछि ‘सिन्दूर’लाई प्रदर्शन गर्न लागिएको हो ।

Sharing Is Caring:

Leave a Comment