दीपकराज गिरी र सरोज न्यौपानेले ‘अनटाइटल’ फिल्ममा सहकार्य गर्ने

Dipa Bhatt

  २०८१ पुष १७ गते

काठमाडौं । अभिनेता दीपकराज गिरी र निर्माता सरोज न्यौपानेले आगामी एक अनटाइटल फिल्मका लागि सहकार्य गर्ने समझदारी गरेका छन् । बुधबार यी दुई फिल्मकर्मीबीच लिखित सम्झौता भएको छ ।

न्यौपानेको अनन्या फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा गिरीको शीर्ष भूमिका हुनेछ । ‘छक्कापञ्जा ५’ हलमा रिलिज भएको केही महिनामै दीपकले आफने ब्यानर आमा सरस्वती मूभिजबन्दा बाहिरको फिल्म गर्न लागेका हुन् ।

न्यौपानेले चलचित्र विकास बोर्डबाट यसअघि ‘जेरी’ र ‘फनफनी घुमेर’ शीर्षकमा निर्माण इजाजत लिएका छन् । तर, गिरीसँग गर्ने भनिएको फिल्म यी दुबै शीर्षकमा नबन्ने न्यौपानेले बताए ।

शीर्षक, निर्देशक र बाँकी कलाकार तय नभैसकेको यो फिल्मको छायांकन आगामी बैशाख वा जेठमा गर्ने तयारी छ । तिहारमा प्रदर्शनको लक्ष्य छ । ‘हामी प्रारम्भिक चरणमा छौं । स्क्रिप्टको काम भैरहेको छ’ न्यौपानेले अनलाइनखबरसँग भने, ‘कथा मनपरेको छ । धेरै कुरा टुंगो लाग्न बाँकी छ ।’

फिल्मको एक कलाकारमा निर्मल शर्मा समेत हुनेछन् । ‘निर्मलजी कलाकार र टीममा हुनुहुनेछ’ न्यौपानेले भने । अन्य कलाकारको लाइनअप लामै हुने उनले बताए ।

दीपकसहित ‘छक्कापञ्जा’ श्रृंखलाका सदस्यहरू केही समय सिरिजबाहिरका फिल्ममा ब्यस्त हुने तयारी छ । सोही योजनाअनुसार दीपकले यो फिल्म साइन गरेका छन् भने केदार घिमिरे अनन्या फिल्म्सकै अहिलेको फिल्म ‘जेरी अनटप’ लगायतमा ब्यस्त छन् ।

सम्भवतः आमा सरस्वती मूभिजले आगामी तिहारपछि एक फिल्ममा काम गर्ने बुझिएको छ । दीपक र सरोजको कुरा गर्दा, यी दुईजनाले सहकार्य गर्ने चर्चा केही वर्षदेखिकै हो । बल्ल अहिले आएर सहमतिले मूर्तरुप पाएको हो ।

Sharing Is Caring:

Leave a Comment