२०८१ पुष १० गते
काठमाडौं । सन् २०२४ को अन्तिम साता सुरु भइसकेको छ । ओटीटीका दर्शकलाई यो साता खास हुने पक्का छ । किनभने यो साता नेटफ्लिक्सको बहुप्रतीक्षित सर्भाइभल सिरिज ‘स्क्विड गेम’ सिजन २ सुरु हुँदैछ । यसको अघिल्लो भागलाई अहिलेसम्म भ्युअर्ससिपमा कसैले तोड्न सकेको छैन ।
क्रिसमस र नयाँ वर्षको छेकोमा केही फिल्म र सिरिज यस साता स्ट्रिमिङ हुनेछन्, जसलाई यहाँ चर्चा गरिंदैछ ।
स्क्विड गेम सिजन २
यो सिरिज सन् २०२१ मा विश्व मिडियाको केन्द्रमा रह्यो । ओटीटीमा धेरै हेरिने शोमध्ये यो एक हो । तीन वर्षपछि यस सातादेखि यसको दोस्रो सिजन सुरु हुँदैछ । यसको कथा सेओङ गि–हुनसँगै अघि बढ्छ जो अघिल्ला अघिल्ला सिजनमा आफ्नो विजयको तीन वर्षपछि घातक प्रतिस्पर्धामा फर्किन्छ । यसपटक उसले खतरनाक खेल आयोजना गर्ने संगठनविरुद्ध लड्न खोजिरहेको छ । ऊसँगै नयाँ प्रतियोगी इम सि–वान, कांग हा–नेउल, पार्क सुङ–हुन र याङ डोङ–गेन पनि सामेल हुनेछन् ।
यो डरलाग्दो गेम शो जितेपछि खेलका प्रतिस्पर्धीले ४५.६ बिलियन वोन (२६६ करोड भारु) प्राप्त गर्नेछन् । २६ डिसेम्बरमा यो सिरिज नेटफ्लिक्समा रिलिज हुने तयारीमा छ ।
खोज : परछाइयों कि उसपार
‘खोज : परछाइयों के उस पार’ हिन्दी वेब सिरिज हो । यसको कथा वेद (शरिब हाश्मी) वरपर घुम्छ, जो आफ्नी हराएकी श्रीमती मीराको खोजीमा निस्किन्छ । मीरा रहस्यमय रुपमा बेपत्ता भएकी छिन् । तर अनुप्रिया गोयन्काको चरित्र प्रवेश गर्दा वेदको यो संसारमा उथलपुथल हुन्छ । सबैले उनलाई मीरा भन्छन्, कोहीले छोरी पनि । यो केटीले पनि आफ्नो पहिचान प्रमाणित गर्न प्रमाण देखाउनुपर्छ । तर वेद आफ्नो पत्नी होइन भन्नेमा उनी पक्का छन् । वेद वास्तविकता र भ्रममा फसेको छ र उसले वास्तविक सुराक पत्ता लगाउनुपर्छ । यो श्रृंखला २७ डिसेम्बरमा ओटीटी प्लाटफर्म जी फाइभमा रिलिज हुनेछ ।
डक्टर्स
डक्टर्स एक हिन्दी वेब सिरिज हो । यसमा शरद केल्करसँगै हरलिन सेठी, आमिर अली, विराफ पटेल र विवान शाह मुख्य भूमिकामा छन् । यसको कथा मुम्बईको प्रतिष्ठित एलिजाबेथ ब्ल्याकवेल मेडिकल सेन्टरमा सेट गरिएको छ । डा. नित्या वासु (हरलीन सेठी) एक महत्वाकांक्षी सर्जिकल निवासी हुन् जसले डा. इशान आहुजा (शरद केलकर) लाई हटाउन चाहन्छन् ।
इशान एक चर्चित न्युरोसर्जन हुन् । नित्याले आफ्नो भाइको करिअर बिग्रनुमा इशान जिम्मेवार भएको महसुस गर्छिन् । जब नित्यालाई इशानसँग काम गर्न बाध्य पारिन्छ, कथामा नयाँ मोड आउँछ । यो श्रृंखलाले मेडिकल इमर्जेन्सीको बीचमा महत्वाकांक्षा, प्रेम र विश्वासघातको जटिल जालको कथालाई उजागर गर्छ । तपाईं यसलाई ओटीटी प्लाटफर्म जियो सिनेमामा २७ डिसेम्बरदेखि हेर्न सक्नुहुन्छ ।
ग्लाडिएटर २
दर्शक ‘ग्लाडिएटर २’ को प्रतीक्षामा छन् । यो फिल्म १५ नोभेम्बरमा हलमा रिलिज भएको थियो । यसको कथा मुख्य पात्र म्याक्सिमसको मृत्युको धेरै वर्षपछि सुरु हुन्छ । यो फिल्म लुसियस वरिपरि घुम्छ । रोमका शक्तिशाली सम्राटले उनको घर कब्जा गरेका छन् । उसले कोलोसियममा प्रवेश गर्नुपर्छ । फिल्ममा पल मेस्कल, पेड्रो पास्कल, जोसेफ क्विन, फ्रेड हेचिन्गर, लियोर राज, डेरेक ज्याकोबी, कोनी निल्सन र डेन्जेल वासिङ्टनले अभिनय गरेका छन् । २३ डिसेम्बरमा यो फिल्म प्राइम भिडियोमा रिलिज हुनेछ ।
ओरिजिन
अस्कर अवार्डमा मनोनित निर्देशक अभा डुवेर्नेको यो फिल्म इसाबेल विल्करसनको पुस्तक ‘कास्ट : द ओरिजिन अफ आवर डिसकन्टेन्ट्स’मा आधारित छ । सन् २०२३ मा रिलिज भएको यो फिल्म बायोग्राफिकल ड्रामा हो, जसले इसाबेल विल्करसनको कथा भन्छ । फिल्ममा आन्जेन्यु एलिस–टेलरले पुलित्जर पुरस्कार विजेता पत्रकार इसाबेलको भूमिका निर्वाह गरेकी छन् ।
कथाले पात्रलाई नाजी जर्मनीको भयानक भग्नावशेषबाट भारतमा जातीय विभाजन र संयुक्त राज्य अमेरिकामा जातीय असमानतासम्म लैजान्छ । फिल्ममा जोन बर्नथल, निसी नास, एमिली यान्सी र भेरा फार्मिगा पनि छन् । फिल्म ‘ओरिजिन’ डिसेम्बर २५ मा नेटफ्लिक्समा रिलिज हुनेछ ।