२०८१ पुष ९ गते
काठमाडौं । चलचित्र विकास बोर्डले विशेष प्रदर्शन, च्यारिटी शो र प्रचारप्रसारको क्रममा हुनसक्ने सम्भावित घटना, झडप, दुर्घटनालाई रोक्न आवश्यक सुरक्षाको प्रबन्ध निर्माता, वितरक, प्रदर्शक वा कलाकार आफैंले गर्नुपर्ने बताएको छ ।
चलचित्र क्षेत्रका नौ संघसंस्थालाई पत्र लेख्दै बोर्डले सार्वजनिक प्रदर्शनको क्रममा कलाकार दर्शकमाझ जाँदा हुनसक्ने झडपलाई रोक्न ध्यानाकर्षण गराएको हो ।
‘चलचित्रका निर्माता, वितरक, प्रदर्शक वा कलाकार आफैंले सुरक्षा व्यवस्थाको आवश्यक प्रबन्ध मिलाउने व्यवस्था कार्यान्वयन गर्न, गराउन सहयोग गर्नु भई चलचित्र क्षेत्रको अनुशासन, मर्यादा र यसको गरिमा जोगाइराख्ने कार्यमा सबैको सहयोग र सहकार्यको लागि अनुरोध गरिन्छ,’ अध्यक्ष दिनेश डीसीले पत्रमा भनेका छन् ।
चलचित्रकर्मीको सुरक्षा व्यवस्था सम्बन्धमा विषयक पत्र लेख्दै बोर्डले निर्माता संघ, कलाकार संघ, निर्देशक समाज, प्राविधिक संघ, नृत्य संघ, चलचित्र संघ, द्वन्द्व कलाकार संघ, आदिवासी जनजाति मातृभाषी चलचित्र संघ र चलचित्र पत्रकार संघलाई उक्त आग्रह गरेको हो ।