२०८१ फागुन २७ गते
२७ फागुन, टोकियो । गत फेब्रुअरी नायक प्रदीप खड्का फिल्म ‘एक्टरः टेक वन’को प्रिमियर शोमा सहभागी हुन जापान आएका थिए। लगभग एकसाता जापान बसेका प्रदीप टोकियो, फुकुओका, नागोया शहरमा राखिएको एक्टर फिल्मको शोमा सहभागी भए।
नेपालमा चलचित्र प्रदर्शन भएको एक सातापछि ‘एक्टरः टेक वन’ले जापानमा प्रदर्शन गरेको थियो।
यही फेब्रुअरी २६ बाट नेपालमा चलचित्र लाज शरणम प्रदर्शनमा आयो। नेपालमा प्रदर्शनमा आएको ५ दिनपछि अर्थात् मार्च ३ मा चलचित्र लाज शरणमको शो जापानमा सम्पन्न भयो।
केही समयअघि ह्स्वदीर्घ लिएर अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा उनका श्रीमान् हरिहर अधिकारी जापान आएका थिए । जापानमा हरेक महिना कोही न कोही कलाकालर चलचित्र प्रर्दशनका लागि आइरहेका हुन्छन् ।
जापानमा रहेका वितरकले बजारमा चर्चा बढी भएका चलचित्रको ‘प्रदर्शन राइट’ किनेर चलचित्र प्रदर्शन गर्दै आएका छन्।
यसरी झट्ट हेर्दा जापानमा चलचित्रको बजार बढिरहेको देखिन्छ । डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि बजार विस्तारमा केही सहज भएको भने पक्कै हो । तर, वितरकलाई अपवादबाहेक अधिकांश चलचित्रबाट लगानी उठाउनै मुस्किल पर्छ ।
जापानमा लामो समयदेखि चलचित्र वितरकको काम गर्दै आएका सुभाष लामिछाने कुनै कुनै फिल्ममा मात्रै लगानी उठाएको बताउँछन् । ‘मैले ४० भन्दा बढी नेपाली फिल्म जापानमा प्रर्दशनमा ल्याएँ तर नगन्य फिल्मबाट मात्र लगानी उठाएको छु’ लामिछाने सुनाउँछन् ।
लामिछानेले सन् २०१२ मा पहिलोपटक निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र ‘लुट’लाई जापानमा व्यवसायिक रुपमा प्रदर्शनमा ल्याएका थिए । लुटले केही मुनाफासमेत कमाएको थियो ।
लामिछानेले लुटपछि फन्को फिल्मको जापान प्रदर्शन राइट किनेका थिए । सो समयमा फिल्मका अभिनेता सौगात मल्ल पनि जापान झिकाइए । फिल्मको प्रदर्शनका लागि भनेर जापान आउने पहिलो कलाकार सौगात मल्ल हुन् । मल्ल त जापान आए, फिल्म हेर्न दर्शक भने आएनन् ।
लुटबाट राम्रो सुरुवात गरेका लामिछानेले यस पछिका धेरै फिल्मबाट पानी भन्न पाएनन् । सायद –२ फिल्मका निर्मातासमेत रहेका लामिछानेसँग कति फिल्म प्रदर्शनमा ल्याए पनि दर्शक नै नआएको अनुभव छ । आम्दानी गर्ने फिल्म सीमित रहेको उनी सुनाउँछन् ।
कोरोनापछि तात्यो बजार
कोभिड–१९ महामारीपछि जापानमा फिल्म बजार केही तातेको देखिन्छ । कोरोनापछि प्रदर्शमा आएको कवड्डी फिल्म हेर्न जापानमा दर्शकको घुँइचो लाग्यो । फिल्म हेर्न आएका दर्शकलाई फर्काउनु पर्ने अवस्था पनि आएको थियो ।
जापानमा राम्रो कलेक्सन गर्ने चलचित्रमा कवड्डी सिरिज, छक्कापञ्जा, हुन् भने पछिल्लो समय राम्रो कलेक्सन गर्ने चलचित्रहरु जारी, बोक्सिको घर, बाह्र गाउँ, पुजार शार्की, फर्कीफर्की, पूर्णबहादुरको सारङ्गी लगायत छन्।
पूर्णबहादुरको सारङ्गीले मात्र जापानमा ३ करोड कलेक्सन गरेको वितरक लामिछानेले जानकारी दिए।
नेपालमा रहँदा चलचित्र पत्रकारिता गरेका सचिन आचार्य यतिबेला जापानमा फिल्म वितरकका रुपमा परिचित छन्। उनले छड्के, महाजात्रा, पुजार सार्की, एक्टरः टेक वन लगायत फिल्म जापानमा प्रदर्शन गरेका थिए ।
‘कुनै फिल्म सुपर फल्प हुन्छन् भने कुनैले सालाखाला व्यापार गर्छन्’ आचार्थ भन्छन्, ‘कलाकार ल्याउँदा कलाकारको डिमान्ड पनि बढी हुन्छ ।’ सिनेमाको जापान रााइट किन्दै आकाश छुने मूल्य तिनुपर्ने हुँदा फिल्म चलेको देखिए पनि लगानी उठाउँदै ठिक्क हुने उनको गुनासो छ।
पूर्णबहादुरको सारंगी जापानमा राम्रो चल्यो । यस्तो अवस्था सधैँ नआउने उनी बताउँछन्। ‘यो फिल्म चल्नु भनेको सुनामी हो’ आचार्य भन्छन्, ‘सुनामी प्रत्येक वर्ष पनि आउँदैन, महिनै पिछे पनि आउँदैन ।’
यसपछि लागेका कुनै पनि फिल्मले यसको रेकर्ड तोड्न सकेका छैनन् । त्यो रेकर्ड हतपत नतोडिने आचार्यको बुझाइ छ।
जापानका वितरकहरुले सुरुवाती चरणमा न्यूनतम ५० हजारदेखि पछिल्लो समय अधिकतम २५ लाख रुपैयाँसम्ममा चलचित्र प्रर्दशनको राइट किन्दै आएका छन्।
वितरक बन्नकै लागि धेरै पैसा हालेर फिल्म जापान ल्याउने परिपाटी बढेको डमरुको डण्डीबियो चलचित्रमार्फत् जापानमा वितरकको काम गर्दै आएका रेशम डंगोल बताउँछन्।
केही चलेका फिल्मको कलेक्सन देखेर निर्माण पक्षसँग चलचित्र किन्ने र जापानमा प्रदर्शन गर्ने नयाँ अनुहार भित्रिरहन्छन् । तर, एक–दुईवटा फिल्म प्रदर्शनमा ल्याएपछि अधिकांश वितरक हराउने गरेको डंगोलले सुनाए।
जापानको सिजुओकामा बस्दै आएका डंगोलले प्रेम गीत– ३, अगस्त्य लगायत फिल्म जापानमा प्रदर्शनमा ल्याएका छन्।
उनी यतिबेला सन्तोष सेनको बलिदान फिल्म जापानमा प्रर्दशनमा ल्याउने तयारीमा छन् । डंगोल अन्य वितरकमार्फत् सिजुओको राइट किनेर जापान भित्रिएका अधिकांश चलचित्र सिजुओकामा चलाउँछन् । नेपाली फिल्मप्रतिको मायाले पनि यस क्षेत्रमा लामो समयदेखि आफू सक्रिय रहेको उनी बताउँछन्।
जापानमा नेपाली फिल्मको बजार बढेको देखिए पनि वास्तविकता त्यस्तो नरहेको जापानको खानागावामा रहेर वितरकको काम गर्दै आएका खिमराज शाह बताउँछन्।
‘यहाँ १० वटा फिल्म ल्याउँदा २ वटा चल्छन्’ शाह भन्छन्, ‘हामीले कथावस्तु थाहा नपाई फिल्मको पोष्टर हेरेर ल्याउने हो । नेपालमा चलेका फिल्म यहाँ पनि चल्छन् । नेपालमा नै नचलेका फिल्म चल्ने चान्स हुँदैन।’
पछिल्लो समय अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा, कोरिया लगायतका देशमा फिल्म प्रदर्शनको राइट बेचेरै लगानी उठाउँछु भन्ने सोच भएका निर्माता पनि बढेको उनको भनाइ छ।
नाम खुलाउन नचाहने एक वितरकका अनुसार नेपालमा समेत प्रदर्शनअघि निकै चर्चामा रहेको एक फिल्म जापानमा प्रदर्शनका लागि ल्याइएको थियो । तर, त्यो फिल्मले पूरै जापानमा ५२ जना दर्शक पायो । वितरक रित्तो हात भए।
सिनेमा हलमा होइन सिटी सेन्टरमा चल्छन् फिल्म
अमेरिका, अष्ट्रेलिया लगायतका देशमा नेपाली चलचित्र बक्स अफिसमा चल्छन् । जापानमा भने सिटी सेन्टरमा फिल्म चल्दै आएका छन् । सिनेमा हलको भाडा निकै महंगो भएकाले सिटी सेन्टरमा चलाउनु बाध्यता रहेको वितरक आचार्य बताउँछन्।
अमेरिका, अष्ट्रेलियामा सिनेमा कल्चर छ । जापानमा अझै पनि सिनेमा कल्चर विकास हुन सकेको छैन । जसका कारण बक्स अफिसमा फिल्म लगाए पनि दर्शकै नहुने अवस्था हुने आचार्यले सुनाए।
जापानमा भाषाका कारण पनि बक्स अफिसमा फिल्म चलाउन कठिन हुने वितरक लामिछाने बताउँछन् । जापानको सबैभन्दा ठूलो समस्या हलमा नेपाली समुदायको पहुँच नै नहुनु रहेको लामिछानेको भनाइ छ।
‘बक्स अफिसमा जाने हो भने फिल्म प्रदर्शन झन्झटिलो हुँदैन’ लामिछाने भन्छन्, ‘हामीले प्रचार गर्नु पर्दैन, लगानी मात्र गरे पुग्छ तर भाषाका कारण पनि यहाँ बक्स अफिसमा फिल्म चलाउन सकिँदैन।’
भाषा नबुझ्ने भएकाले हलले प्रचार गर्नु भन्दा वितरकले नै प्रचार गर्दा दर्शक बढी हुने उनले सुनाए।