२०८१ फागुन २४ गते
काठमाडौँ — गाउँमा सबैलाई अमेरिका नै जानु छ । हाजमोलालाई अमेरिका जानु छ, रेशम (विनय श्रेष्ठ)लाई पनि अमेरिका नै जानुछ । कोट सिलाउने दाइलाई अमेरिका जानुछ, अमेरिकाको भिसा नलगाएको छोराको बाउलाई अमेरिका जानुछ । छोरीको बाउलाई पनि छोरीलाई अमेरिका पठाएर आफूलाई पनि अमेरिका नै बोलाओस् भन्ने छ ।
जे होस्, रेशमको गाउँमा सबैलाई अमेरिका जानुछ । त्यसैले लामबद्ध भएर सबैले डीभी भर्छन्, अन्त्यमा डीभी पर्छ रेशमको पोल्टामा ! त्यसपछि गाउँले नै रेशमको पछाडि । रेशमको पछाडि लागेको हाजमोलाको उद्देश्य अर्कै छ । रेशमभन्दा अगाडि अमेरिका जाने सपना साँचेको हाजमोलालाई पासपोर्ट च्यातेरै भए नि रेशमलाई विदेश उड्नबाट रोक्नु छ ।
निरोज महर्जनको निर्देशनमा तयार भएको कमेडी विधाको ‘फेरि रेशम फिलिली’ को कथा यही सेरोफेरोमा सुरु हुन्छ । देशको अवस्था हेर्ने हो भने नेपालमा सबैलाई विदेशै जानु छ । बेरोजगारी, अभाव, चरम निराशा, महँगी, आधारभूत आवश्यकता पूरा गर्नकै लागि पनि सबैलाई विदेश उड्नु छ । चाहे त्यो अमेरिका होस् या जापान, कोरिया अथवा खाडी, सजिलै भिसा हात पर्ने भए यो देशमा कति जना नै बाँकी रहन्थे होलान् ?
फिल्मले देखाउन खोजेको देशको सामाजिक चित्र, विम्ब र वर्तमान अवस्थाप्रतिको व्यंग्यमा ‘फेरि रेशम फिलिली’ एक हदसम्म बलियो छ । तर, फिल्मको कथ्य शैली सतही हुँदा यसमा प्रयोग हास्यरस, उठाउन खोजिएको मुद्दा कमजोर बनेको छ ।
फिल्मको कथा केवल अमेरिकी सपनावरिपरि घुम्छ । संवाद, दृश्यदेखि घटनाक्रममा समेत अमेरिका नै घुमिरहँदा कथाले उठाउन खोजेको विषय निरस बन्दै जान्छ । फिल्मको कथा एउटै कुरामा घुमिरहन्छ, कथा अगाडि बढ्दै बढ्दैन । अधिकांश दृश्य अतिरञ्जना गरिएका छन् । कथा, पात्र र परिस्थिति विश्वसनीय ढंगले प्रस्तुत गरिएको छैन । कोही किन अर्काको पासपोर्ट च्यात्न मरिहत्ते गर्छ ? यस्ता मिहिन विषयमा फिल्म प्रवेश नगर्दा अधिकांश घटनाक्रम अविश्वनीय लाग्छन् ।
फिल्मको कथा उठान सरल छ । ‘रेशम फिलिली’मा कतार जान हिँडेको रेशमलाई चितवनको कुनै जंगलमा त्यसै अलपत्र छाडिदिएको हुन्छ । बुढी आमालाई गाउँमा एक्लै छाडेर आएको रेशमले त्यसपछि काठमाडौंमै संघर्ष सुरु गर्छ । त्यसपछि एकपछि अर्को समस्यामै रेशमको जीवन अल्झिन्छ । यो समस्यामा उनी मात्र एक्लै हुन्नन्, साथी हरिया(कामेश्वर चौरासिया) पनि साथमै हुन्छन् । समस्यालाई पार लगाउने क्रममा रेशम कतार पुग्दैनन्, गाउँ फर्कन्छन् । गाउँमा फर्किएको यही रेशमको डीभी भर्ने यात्रा, डीभी परिसकेपछि अमेरिका जान उनले गर्नुपर्ने प्रक्रिया, झेल्दै जाने समस्या वरपर नै ‘फेरि रेशम फिलिली’को कथा घुम्छ ।
फिल्ममा अधिकांश चरित्र लाउड छन् । त्यसबीचमा रेशम विपरीत छन् । रेशमभित्रको निर्दोष स्वभावलाई विनयले फेरि आफ्नो अभिनयमार्फत प्रस्तुत गरेका छन् । यो फिल्ममा कामेश्वर चौरासियाले हरिया चरित्रमार्फत फेरि आफ्नो बलियो उपस्थिति जनाएका छन् । फिल्ममा उनले बोल्ने संवाद होस् या कमिक लाइन, सबैमा उनी सन्तुलित देखिन्छन् । यो चरित्रले हरेक पटक आफ्नो उपस्थितिमा दर्शक हँसाइरहन्छ । तर, अधिकांश दृश्य लम्बेतान गराउँदा केही दृश्यमा हरियाकै कमिक लाइन पनि कमजोर बन्छ । यो फिल्ममा त्यस्ता थुप्रै दृश्य छन्, जसलाई सम्पादन गरी छाँट्न सकिन्थ्यो । अधिकांश दृश्य लामा बन्दा, कथाले दर्शकको ध्यान उही हिसाबले बाँधिरहँदैन ।
यो फिल्म यौनिक तथा अल्पसैंख्यक समुदायप्रति संवेदनशील छैन । अधिकांश नेपाली फिल्मले अहिलेसम्म यौनिक तथा अल्पसैंख्यक समुदायका चरित्रलाई दर्शक हँसाउनका लागि मात्रै भद्दा प्रयोग गर्दै आइरहेको छ । उक्त समुदायका पीडा, उनीहरूका मुद्दा र भावनालाई दर्शक हँसाउन मात्र पर्दामा देखाइन्छ । यसअर्थमा पुष्पा (महेश प्रधान) को चरित्रलाई पनि फिल्मभरि दर्शक हँसाउनकै लागि मात्र मजाकको पात्र बनाइएको छ । यो पात्रको शारीरिक हाउभाउलाई जसरी क्यामेराले खिचेर पर्दामा पस्किइएको छ, त्यसको नियत पुष्पालाई मजाकको विषय बनाएर दर्शक हँसाउनुमा देखिन्छ । समलिंगी प्रेम, उनीहरूका यौनिक पहिचानजस्ता विषयमा प्रयोग गरिने संवाद पनि संवेदनहीन छ ।
फिल्मको एक दृश्य यति निम्नस्तरको छ कि त्यसले निर्देशकको यस अल्पसंख्यक समुदाय र उनीहरूका मुद्दाप्रतिको दृष्टिकोण झल्काउँछ । जब सबै पात्र तितरबितर भइरहेका हुन्छन्, त्यो कोलाहल/भागदौडबीच पुष्पाको प्रेमी कुनालको शरीरलाई सारीले त्यसै बेरिँदै लैजान्छ । के कुनै समलिंगीले प्रेमीसँग बिहे गर्न सारी नै पहिरिनु पर्छ । सारी पहिर्याइदिएर निर्देशकले यो दृश्यबाट भन्न खोजेको के हो ? के कुनै पुरुषले पुरुष भएरै प्रेम गर्न सम्भव छैन ? उनलाई महिलाको भेष धारण गरिरहनुपर्छ र ? फिल्मको केही दृश्यमा यौनिक तथा अल्पसंख्यक समुदायप्रति समाज, परिवारको हेराइ परिवर्तन हुनुपर्ने ठूल्ठूला संवाद पनि मिसाइएका छन् । तर, दृश्यमा ती समुदायका पात्र, उनीहरूका भावनालाई जसरी प्रस्तुत गरिन्छ, त्यसमा यी संवादको तुक छैन ।
महिला चरित्र चित्रणमा पनि फिल्म कमजोर छ । यो फिल्मको सुरुवातदेखि अन्तिमसम्म २ महिला निरन्तर देखाइन्छन्, जो रेशमसँग बिहे गर्न मरिहत्ते गर्छन् । यी दुई पात्रलाई जसरी हुन्छ, रेशमसँग बिहे गर्नुछ । किन ? डीभी परेका रेशमसँग बिहे गरेर अमेरिका जान । उनीहरूले आफ्नै क्षमतामा अमेरिका जाने कुनै उपाय गरेको फिल्ममा देखाइँदैन ।
पुरुषमै निर्भर भएर मात्रै महिलाहरू विदेश जान सक्छन्, पाउँछन् भन्ने भाष्य फिल्ममा तब स्थापित हुन्छ, जब प्रमुख भूमिकामा देखिएकी अर्की महिला पात्र मुनाल (सुपुष्पा भट्ट)ले पनि अमेरिका जान रेशम मात्रै देख्छे । अन्याय अत्याचार भइरहँदा बन्दुक समाएर त्यसको विरुद्धमा उभिने होस् वा दाजु पुष्पाको पक्षमा उभिन होस्, सबै ठाउँमा आफूलाई बलियो रुपमा उभ्याउने यो चरित्रलाई पनि निम्छरो देखाइएको छ ।
शक्ति, सम्पत्ति र क्षमता हुँदाहुँदै पनि यो पात्रलाई अमेरिका पुग्न रेशमकै सहारा चाहिएको छ । किन ? अमेरिकामा पुगेको पूर्वप्रेमीसँग बदला लिन ! आफ्नै बलबुतामा संसारमा कुनाकाप्चा टेक्दै आइरहेकी महिलासामु यो चरित्र निकै निरीह देखाइएको छ ।
फिल्मले बिनासंवाद, केही दृश्यबाटै ठूल्ठूला विषय बोलिदिन सक्छ । फिल्मको यही शक्तिलाई नै दृश्य भाषामा अधिकांशले प्रयोग गर्छन् । तर, यो फिल्ममा अधिकांश विषय उठाइरहँदा संवादको प्रयोग गरिन्छ, दृश्यले खासै ती कुरा उठाइरहेको हुँदैन । त्यसैले ‘फेरि रेशम फिलिली’ले भन्न खोजेको मूल विषय पनि सन्देशमूलक जस्तो देखिन्छ ।
९० को दशकमा बन्ने फिल्महरूको अन्त्यमा जसरी सन्देश झुन्ड्याइन्थ्यो, त्यस्तै शैली अपनाउँदा ‘फेरि रेशम फिलिली’को कथ्य शैली एक दशकअघिको ‘रेशम फिलिली’तिरै अड्किएको भान हुन्छ । फिल्मको सिक्वेल बनाइरहँदा कथा वाचनका यी पक्षमा निर्देशक घोत्लिएको भए फिल्मले उठाएको विषय दर्शकको दिल/दिमागमा मज्जाले पस्ने थियो ।