‘बलिदान’को पोस्टरमा कविता रायको ‘एंग्री’ लुक्स

Dipa Bhatt

२०८१ फागुन २३ गते

काठमाडौं । दशैं फूलपातिमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘बलिदान’ले पहिलो क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा शुक्रबार ‘किरण’ नामक महिला पात्रको लुक्स सार्वजनिक गरियो ।

सो पात्रमा डेब्यु अभिनेत्री कविता रायले अभिनय गरेकी छन् । पोस्टरमा चित्रित पात्रको अनुहार रगत लतपतिएको छ । एक आँखा मात्र स्पष्ट देखिने गरी फ्रेम राखिएको छ ।

निर्देशक सन्तोष सेनले फिल्ममा राज्यको मूलधारबाट किनारिएको एउटा वर्ग र त्यो वर्गको वस्तुस्थितिलाई काल्पनिकरुपमा तयार पारिएको बताए । सोही वर्गलाई प्रतिनिधित्व गर्ने महिला प्रमुख कलाकारको रुपमा अडिसनमार्फत रायलाई छनोट गरिएको थियो ।

‘हाम्रो कल्पनाको ‘किरण’, जसको आवरण, आचरण, बोल्ने लवज र पात्रले देखाउनुपर्ने सशक्त अभिनय कविता रायमा भेटिएकाले हामीले उनलाई यस भूमिकाका लागि छनौट गरेका थियौँ’ निर्देशक सेनले भने ।

फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारको अभिनय छ । यसअघि ‘प्रेमगीत’जस्ता हिट फिल्म निर्माण गरेको ‘आसुसेन फिल्म्स् प्रालि’को ब्यानरमा फिल्म निर्माण भएको हो । निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन् ।

Sharing Is Caring:

Leave a Comment