अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रशंसित ‘राजागञ्ज’ले ल्यायो नेपाल संस्करणको पोस्टर

Dipa Bhatt

२०८१ पुष १८ गते

काठमाडौं । ‘पूजा, सर’ नामले अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रदर्शन भैसकेको दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’ १ चैत (१४ मार्च)देखि नेपालका हलमा रिलिज हुँदैछ ।

निर्माताले विहिबार नेपाल संस्करणको थिएट्रिकल पोस्टर सार्वजनिक गर्दै औपचारिकरुपमा प्रदर्शन मिति घोषणा गरेका छन् । पोस्टरमा ४ प्रमुख कलाकार आशा मगराती, दयाहाङ राई, निकिता चाण्डक र विजय बराललाई चित्रण गरिएको छ ।

कलाकार क्यारेक्टर लुक्समा छन् । सांसदको छोरासहितका दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा यसमा पेश छ । यो सोसल ड्रामा तथा एक्सन फिल्ममा मगरातीको शीर्ष भूमिका छ ।

भेनिसमा विश्व प्रिमियर भैसकेको यो फिल्म बुसान र मुम्बईजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत स्क्रिनिङ भैसकेको छ । ऋचा शर्मा, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय छ ।

‘हाइवे’ र ‘ह्वाइट सन्’पछि निर्देशक रौनियारको यो तेस्रो कथानक फिल्म हो । रौनियारको पहिलो फिचर फिल्म ‘हाइवे’ सन् २०१२ मा बर्लिनमा प्रिमियर भएको थियो । सन् २०१६ मा अर्को फिल्म ‘ह्वाइट सन्’ भेनिस, पाम स्प्रिङ्स, फ्राइबर्ग र सिंगापुर फेस्टिभलमा पुरस्कृत भएको थियो ।

‘राजागञ्ज’को निर्माण आदि फिल्म्सका लागि रौनियार र मगराती, बाँसुरी फिल्म्सका लागि रामबाबु गुरुङ र तन्हाउसर गेटका लागि एलन आर मिलिगनले गरेका हुन् । नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट पनि आर्थिक सहयोग प्राप्त गरेको छ ।

कार्यकारी निर्माताको रुपमा भारतीय निर्देशक अनुराग कश्यप जोडिएका छन् । ‘यो एक मार्मिक र सान्दर्भिक विधाको फिल्म मात्र होइन । म विश्वस्त छु कि यसले भारतीय दर्शकको आवाज पनि भन्नेछ’ कश्यपले भनेका थिए ।

अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा रुचाएको र प्रशंसित यो फिल्म हेर्न नेपाली दर्शक समेत उत्साहित छन् । विभिन्न अन्तर्राष्ट्रिय मिडियाले यस फिल्मको प्रशंसा गर्दै नेपाल चिनाउन मद्दत पुग्ने आँखिझ्यालको रुपमा विश्लेषण गरेका छन् ।

Sharing Is Caring:

Leave a Comment