२०८१ पुष १७ गते
काठमाडौं । सामाजिक र हास्य कथावस्तुमा निर्माण भएको फिल्म ‘लाज शरणम्’ले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा बुधबारदेखि प्रवर्द्धन गतिविधि थालेको छ । निर्देशक कुमार कट्टेलले पोस्टर सार्वजनिक गर्दै प्रचार सुरु भएको बताए ।
उनले देशव्यापी दर्शकसँग जोडिने प्रवर्द्धन अभियान सञ्चालन हुने बताए । यसका लागि फिल्मले कविता, गायन लगायतका प्रवर्द्धन क्याम्पेन देशव्यापी आयोजना गर्ने भएको छ ।
‘लाज शरणमबारे जानकारी दिन हामी देशव्यापी दर्शकसँग जोडिने तयारीमा छौं । यसका लागि कविता टुर लगायतका कार्यक्रम हुनेछन्,’ कट्टेलले अनलाइनखबरसँग भने, ‘हामीलाई लिएर दर्शकको दृष्टिकोण कस्तो छ भन्ने बुझ्न पनि यसले मद्दत गर्नेछ ।’ प्रवर्द्धन अभियानको घोषणा चाँडै हुने उनले बताए ।
पोस्टरले फिल्मबारे के दर्शाउँछ ?
यो फिल्मलाई लिएर बुधबार तीन पोस्टर सार्वजनिक भएका छन् । पोस्टरमा जेपीटी क्रिएसनले निर्माण गरिरहेको टिभी सिरियल ‘सक्किगो नि’का पात्र र चल्तीका फिल्म कलाकारलाई समेटेर पोस्टर डिजाइन गरिएको छ ।
एक पोस्टरमा शव बाकसभित्र हरिश निरौला, विजय बराल, सागर लम्साल र अर्जुन घिमिरेलाई समावेश गरेको देखिन्छ । दोस्रोमा पोस्टरमा हात तराजु बोकेर एक व्यक्ति उक्त शव बाकसमाथि उभिएका छन् । हुलिया हेर्दा उनी महेश त्रिपाठीजस्तो देखिन्छ ।
अर्को पोस्टरमा निरौला र बराल छन् । निरौलाको ढाडमा बसेर बरालले मान्छेको हड्डीको शंख फुकिरहेको देखिन्छ । जारी पोस्टरहरूले सम्पत्तिको लोभमा मान्छे कसरी मृत्युसम्म पुगिरहेको छ भन्ने कुरा दर्शाउँछन् । निर्देशक कट्टेलले गम्भीर सामाजिक कथावस्तुलाई हास्यशैलीमा प्रस्तुत गरिएको बताए ।
फिल्ममा मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, अर्पण थापा, रेणु योगी, माला लिम्बूसँगै ‘सक्किगो नि’ समूहबाट अर्जुन घिमिरे, सागर लम्साल, प्रियना आचार्य, बबिन राई, रामभजन कामत, कमलमणि नेपालको पनि अभिनय छ । सुदीप बराल छायाकार हुन् ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्मलाई नवीन श्रेष्ठले निर्माण गरेका हुन् । रामनरेश शाह र सिर्जना खड्का सहनिर्माता हुन् ।