२०८१ पुष १६ गते
काठमाडौं । फिल्म ‘कार्साङ’का कलाकार र निर्देशकले गहन विषयमा फिल्म बनेकाले यसले दर्शकको मन छुने दाबी गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले कुनै समुदाय र ठाउँ विशेषको कथा भए पनि सबैको मन जित्ने कथामा फिल्म बनेको तर्क गरे ।
अभिनेता दयाहाङ राईले शेर्पा समुदायको झाँक्रीको कथावस्तुमा फिल्म बनेको बताए । आर्थिक अवस्था कमजोर भएको क्यारेक्टरमा आफू फिल्ममा झाँक्रीको भूमिकामा देखिएको उनले बताए ।
‘झाँक्री विद्या जान्नुपर्ने क्यारेक्टर थियो । आगोमा नाच्नुपर्ने थियो । सिनेमा हो चिटिङ भइहाल्छ नि भन्नेमा म थिएँ । तर उहाँहरू केही हुन्न मन्त्र पढेर आगोको राप मारेको छ भन्दै हुनुहुन्थ्यो,’ पत्रकार सम्मेलनमा उनले भने, ‘निर्देशक पनि खासै केही हुँदैन भन्नुहुन्छ । मलाई के गर्नु–गर्नु भयो । ट्राइ चाहिं गर्छु भन्ने भयो । आगोमा पसें, सफल भएँ । उहाँहरूसँग ज्ञान रहेछ ।’
लामो अनुभव र प्रयासले झाँक्री विद्या विद्यमान रहेको उनले बताए । झाँक्री विद्यालाई अन्धविश्वास भनेर सबैले सहजै भने पनि लामो अभ्यास र अनुभवका कारण केही शक्ति भने यसमा रहेको उनको दाबी छ । ‘त्यसैले ‘कार्साङ’मा आफूले कहिल्यै नगरेको अनौठो अनुभव गर्न पाएँ,’ उनले भने ।
निर्देशक यम शेर्पाले भने, ‘कथा आफैंमा राम्रो छ । दर्शकको मन छुन्छ । भावुक बनाउँछ र हसाउँछ पनि,’ उनले भने, ‘फिल्मलाई लिएर आम दर्शकमा चासो रहेकाले हलमा पुगेपछि विषय र प्रस्तुतिलाई आम अडियन्सले मन पराउने उनको भनाइ छ ।
अभिनेता जितु नेपालले फिल्म विषय, प्रस्तुति र अभिनय सबै हिसाबले राम्रो बनेको बताए । आफू विदेशमा हुँदा धेरैले यो फिल्मको विषय र भूमिकालाई लिएर धेरैले सोधेको उनले बताए ।
‘म केन्द्रीय चरित्रमा छु वा सहायक त्यसले केही अर्थ राख्दैन । सिनेमा कस्तो छ र अभिनय कस्तो छ भन्ने कुरा हो,’ जितुले भने, ‘म केन्द्रीय चरित्र हुँदा पनि काम गर्छु । सहायक चरित्र हुँदा पनि गर्छु ।’
कलाकारका लागि चरित्र कुन भन्दा पनि काम कस्तो गरियो भन्ने कुराले फिल्ममा अर्थ राख्ने उनले बताए ।
डेब्यु अभिनेत्री सिर्जना निङ्लेखुले आफूले राम्रो दिने प्रयास गरेको बताइन् । ‘कार्साङ’ आफ्नो पहि फिल्म भएको जनाउँदै उनले भनिन्, ‘मेरो काम कस्तो छ भनेर हेर्न पनि यो चलचित्र हेर्नुपर्छ ।’
पुस २६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ । फिल्मले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ ।
फिल्ममा बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितको पनि अभिनय छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।