२०८१ पुष १० गते
काठमाडौं । बाल विवाह र महिला हिंसाविरुद्ध सन्देश दिने फिल्म ‘जुना’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म २५ माघमा प्रदर्शनमा आउने निर्माताले जनाएका छन् ।
अभिनेत्री अस्मिता ढकाललाई चित्रण गर्दै निर्माताले बुधबार पोस्टर सार्वजनिक गरेका छन् । पोस्टरमा उनलाई बाल विवाह गर्न बाध्य बालिकाको भूमिकामा देखाइएको छ । उनी सिन्दुर, पोते र बाला लगाएकी बालिकाको रोलमा छिन् ।
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको ब्यानरमा ‘जुना’ निर्माण भएको हो । फिल्मलाई जीवन सेञ्चुरीले निर्देशन गरेका हुन् । अस्मितासहित कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके र केशव अधिकारीको पनि अभिनय छ ।
बाल विवाह सामाजिक अपराध रहेको र यसलाई अन्त्य गर्नुपर्ने सन्देशसहित फिल्म निर्माण गरिएको निर्देशक सेञ्चुरीले बताए । ‘जुना’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको फिल्म हो । नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस फिल्मको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ,’ उनले भने ।
सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्न सरकारले लिएको लक्ष्यलाई फिल्मले सघाउने उनले बताए । पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा दीपकप्रसाद घिमिरेको लगानी छ ।
फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत छ । फिल्मलाई रामेश्वर हुमागाईंले खिचेका हुन् ।