२०८१ पुष ९ गते
काठमाडौं । अभिनेता सुशील श्रेष्ठ चार वर्षपछिमा फिल्ममा फर्किने पक्का भएको छ । उनको आगामी फिल्म ‘आउट ल : दफा २०१९’ को प्रदर्शन मिति तय भएको छ ।
यो फिल्म फागु पूर्णिमाको अवसरमा २९ फागुनमा हलमा आउने भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका छन् । ‘लभ डायरिज’ रिलिजको झण्डै चार वर्षपछि श्रेष्ठ ठूलो पर्दामा फर्किन लागेका हुन् ।
‘होस्टेल रिटर्न्स’ डेब्यु एक्टरले आफ्नो छैटौं फिल्मबारे अनलाइनखबरसँग संक्षिप्त कुराकानी गरे । यो एक्सन थ्रीलर फिल्म ‘लार्जर देन लाइफ’ शैलीमा बनेको र दर्शकले रुचाउने उनको विश्वास छ ।
‘पछिल्लो समय एक्सन फिल्मप्रतिको दर्शकीय आकर्षणलाई यो फिल्मले कायमै राख्नेछ भन्ने आशा छ’ उनले भने । फिल्ममा उनी ग्याङस्टर, एन्टीहिरो चरित्रमा प्रस्तुत छन् ।
यो फिल्मको लागि भनेर सुशिलले ४ वर्ष प्रतीक्षामा बिताए । सुटिङ भएकै २ वर्षभन्दा धेरै भैसक्यो । ‘बीचमा निल्नु न ओकल्नुभयो । चार वर्ष मैले आउट लको लागि भनेर कुरें । एउटा आओस्, राम्रो आओस् भन्ने मेरो अपेक्षा थियो’ उनले भने ।
यो फिल्म रिलिजपछि भने आफूले लगातार फिल्म गर्ने उनको योजना छ । ‘यसपछि लगातार फिल्म गर्छु । धेरै फिल्म आइरहेका छन्’ उनले भने । उनले यसअघि होस्टेल रिटन्र्स, कारखाना, सायद २, बादशाह जुट र लभ डायरिजमा अभिनय गरेका छन् ।
फिल्ममा शिक्षा संग्रौला, नरेश पौड्याल, सुमन भण्डारी, सोनी लगुन लगायतको अभिनय छ । स्याडो पिक्चर्स र रेट्रो फिल्म्सको प्रस्तुतिमा फिल्म निर्माण भएको हो ।