‘परदेशी २’ सोमबारदेखि ओटीटीमा, नयाँ फिल्म छायांकन तयारीमा नारायण रायमाझी

Dipa Bhatt

२०८१ पुष ७ गते

काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ सोमबारदेखि नेपाली ओटीटी प्लाटफर्ममा स्ट्रिमिङ हुने भएको छ । यो फिल्मबाट गायक प्रकाश सपुतले अभिनेताको रुपमा डेब्यु गरेका थिए ।

एमएसएम भिडियोले फिल्मलाई सोमबारदेखि स्ट्रिमिङ गर्न लागेको जनाएको छ । संगीतकार रायमाझी निर्देशित यो फिल्ममा प्रकाश सपुतसहित केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी लगायतको अभिनय छ ।

फिल्मले वैदेशिक रोजगारीको यथार्थ पाटोलाई चित्रण गर्छ । २०८० साल असोज २६ गते यो फिल्म हलमा रिलिज भएको थियो । यसले थिएट्रिकल बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको थियो । हल रिलिजको एक वर्षपछि फिल्म डिजिटल स्पेसमा आउन लागेको हो ।

यसैबीच, निर्देशक रायमाझीको नयाँ फिल्मको छायांकन चैतदेखि सुरु हुने भएको छ । अनलाइनखबरसँग कुरा गर्दै रायमाझीले २०८१ सालभित्र आफूले निर्देशन गर्ने फिल्मको छायांकन सुरु हुने बताए ।

‘अहिले तीन स्क्रिप्टमा काम भइरहेको छ । तीमध्ये एक फिल्मको सुटिङ चैतभित्र सुरु गर्छु,’ उनले भने, ‘ठ्याक्कै फिल्मको नाम चाहिं तय भइसकेको छैन ।’ परदेशीको तेस्रो श्रृंखला भने तत्काल नबन्ने उनले बताए । ‘सम्भवतः नयाँ प्रोजेक्टमा काम भइरहेको छ,’ उनले भने ।

Sharing Is Caring:

Leave a Comment