‘इन्गेजमेन्ट’ चर्चाबारे के भन्छिन् सृष्टि ?

Dipa Bhatt

  २०८१ फागुन २३ गते

काठमाडौं । गत महिना अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठबीच ‘इन्गेजमेन्ट’को चर्चा चल्यो । डेटै तोकेर चैत ३ गते इन्गेजमेन्ट हुने हल्ला फिल्म वृत्तमा थियो । यसका लागि सौगातले फिल्म ‘कल्ली’को सेड्युल समेत पर सारेको चर्चा थियो ।

अहिले पनि यी दुईजनालाई इन्गेजमेन्टको प्रश्नले पछ्याइरहेको छ । आगामी फिल्म ‘११ः५५’को ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सृष्टिलाई विवाह र इन्गेजमेन्टबारे प्रश्न सोधियो ।

जवाफमा उनले आफूहरूबीच अहिले पनि राम्रो सम्बन्ध रहेको बताउँदै इन्गेजमेन्टको खबर सत्य नरहेको बताइन् । तर, भोलिका दिनमा के हुन्छ हेरौं भन्दै सम्भावनातर्फ संकेत गरेकी छिन् । सौगातले पनि भोलि कसले देखेको छ र भनेर जवाफ दिएका थिए ।

सृष्टिले पत्रकार सम्मेलनमा भनिन्, ‘चैत ३ गते नै इन्गेजमेन्ट हुँदैछ भन्ने खबर पनि सुनेँ । तर, यो कुरा सत्य होइन । मलाई त्यो खबर सुनेर रमाइलो लाग्यो । अहिले त बिहेको कुरा छैन, हेरौं भोलिको दिनमा के हुनेछ ।’

पहिला पनि झगडा गरेर आफूहरू अलग नरहेको दावी उनले गरिन् । ‘हामी पहिले पनि झगडा गरेर नराम्रो भएर अलग भएका थिएनौँ । के कारण अलग भएका हौं भन्ने सबैलाई थाहा छ । अहिले हामीबिच राम्रो सम्बन्ध पनि छ’ उनले भनिन् ।

सौगात र सृष्टिले यतिबेला फिल्म ‘भाइरल गोर्खे’मा एकसाथ काम गरेका छन् । ‘ब्रेकअप’ हुनुअघि परिवारमा विवाहको समेत कुराकानी भएको दुवैले स्वीकारेका छन् । यतिबेला ‘प्याचअप’ भएको अनुमान गरिएको छ, जसलाई दुवैले अस्वीकार गरेका छैनन् ।

Sharing Is Caring:

Leave a Comment