२०८१ पुष १४ गते
काठमाडौं । मिस नेपाल वर्ल्ड-२०२२ प्रियंकारानी जोशीले पछिल्लो सप्ताहन्त चितवनको दुर्गम इच्छाकामना गाउँपालिकाको अपरदानगढीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकी छन् ।
मेडिसिटी र बयोधा हस्पिटलसँगको सहकार्यमा आयोजित शिविरमा सामान्य स्वास्थ्य जाँच, स्त्रीरोग, बालरोगबारे परामर्श सेवा प्रदान गरिएको थियो । शिविरमा २१० भन्दा बढी बिरामीले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । उनीहरुलाई निःशुल्क औषधि पनि उपलब्ध गराइएको थियो ।
पतञ्जली आयुर्वेदिक र डाबर नेपालले पनि बिरामीलाई सरसफाक्ष सामग्री वितरण गरे । प्रियंकारानीले सन् २०२२ मा आयोजित मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको परियोजना पनि अपरदानगढीमा सञ्चालन गरेकी थिइन् । उक्त परियोजनाअन्तर्गत उनले स्वास्थ्य शिविर, विद्यालय भवन निर्माण र उद्यमशीलताका परियोजना सञ्चालन गरेकी थिइन् ।
गत ९ मार्चमा मुम्बईमा आयोजित ७१ औं मिस वर्ल्डमा प्रियंका एसिया र ओसियाना क्षेत्रबाट ब्युटी विथ पर्पस विधामा विजयी भएकी थिइन् । मिस वर्ल्डमा उक्त विधा क्षेत्रीयरुपमा विजयी भएपछि अपरदानगढीको चर्चा चुलिएको छ ।
शिविरमा चिकित्सकहरु रुविना गुरुङ ताम्राकार, मनबोधकुमार शाह, आनन्द रौनियार र शोएब इकबालले स्वास्थ्य जाँच र परामर्श गरेका थिए । दुई नर्स रविन्द्र गुप्ता, निशा झा र संयोजक स्वेच्छा विमाली पनि थिए ।
नेपाल मेडिसिटी, बयोधा अस्पताल, वात्सल्य नेचुरल आईभीएफ, एसके भेन्चर्स, द हिडन ट्रेजर र शरद् टिब्रेवालाको सहकार्यमा शिविर सञ्चानलन गरिएको हो ।