२०८१ चैत ९ गते
विराटनगर — पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि उदयपुरको फ्युजन फुटबल क्लब गाईघाट र मोरङको लेटाङ फुटबल क्लब आइतबार विराटनगरको जुटमिल मैदानमा भिड्दै छन् ।
दुवै टोली पहिलोपटक फाइनल भिड्न लागेका हुन् । लेटाङले क्वार्टरफाइनलमा आयोजक लालीगुराँस स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गरेको थियो । त्यसपछि सेमिफाइनलमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबलाई ६–३ गोलअन्तरले हराउँदै उपाधिको दाबेदारी पेस गरेको हो ।
लेटाङका प्रशिक्षक इन्द्र राईले उपाधि जित्नेमा आफू ढुक्क रहेको बताए । ‘फाइनलमा हामी टेक्निकल खेल प्रदर्शन गर्नेछौं र उपाधि कब्जा गर्ने हाम्रो एक मात्र लक्ष्य रहेको छ,’ उनले भने ।
उदयपुरको फ्युजन फुटबल क्लब गाईघाटले क्वार्टरफाइनलमा सप्तरीको प्रोग्रेसिभ युवा क्लबलाई १–० गोलले हराएको थियो । त्यसपछि सेमिफाइनलमा इटहरी टीएफसी तालतलैयालाई ५–१ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । गाईघाटका प्रशिक्षक विशाल राईले भने, ‘उपाधि उचालेर इतिहास रच्ने हाम्रो लक्ष्य हो ।’
अघिल्लो वर्षको मिल्स गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले जितेको थियो ।
मिल्स गोल्डकप विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँ पाउनेछन् ।
चैत ३ बाट सुरु प्रतियोगितामा एक भारतीय टिमसहित कोशी प्रदेशका ८ टिमको सहभागिता थियो ।