पिंक केयराथनमा आर्मी खेलाडीको वर्चस्व

Dipa Bhatt

२०८१ चैत ९ गते

काठमाडौँ — काठमाडौं पिंक केयराथन महिला दौडअन्तर्गत २१ किमि हाफ म्याराथनको उपाधि आर्मीकी धाविका सुनसरी रोकायले जितेकी छन् ।

लेजर पोर्ट नेपालले शनिबार आयोजना गरेको उक्त दौडको हाफ म्याराथनमा एपीएफकी पुष्पा भण्डारी दोस्रो र आर्मीकी निर्मला केसी तेस्रो भए । विजेताले ५१ हजार, दोस्रोले ३१ हजार र तेस्रोले २१ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

१० किमि दौडमा आर्मीकी निशा सार्कीले विजेता, एपीएफकी आशा रावतले दोस्रो र पुलिसकी सुमित्रा चौधरीले तेस्रो स्थान हासिल गरे । विजेताले ३१ हजार , दोस्रोले २१ हजार र तेस्रोले ११ हजार पाए । ५ किमितर्फ आर्मीकी सरस्वती भट्टराई, अनुसिया तण्डुकार र आर्मीकी कुसुम तामाङ तथा ३ किमितर्फ सम्झना राई, गायत्री श्रेष्ठ र सुप्रिता थापा शीर्ष तीन स्थानमा विजयी भए । ३ र ५ किमि दौडका विजेताले लाजिम्पाटमा रहेको दूसित प्रिन्सेस होटलमा दुई जनाका प्याकेज पाएका छन् । सबै १२ विजेताले मेटलाइफको तर्फबाट इन्स्योरेन्स प्याकेज पाएका छन् ।

ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रममा दुईदेखि ७० वर्षसम्म झन्डै २ हजार महिलाको सहभागिता थियो ।

मार्च महिनामा अन्तर्राष्ट्रिय महिला दिवस पर्ने भएकाले विशेषतः महिलाका यो कार्यक्रम गरिएको लेजर पोर्टले जनाएको छ । जुम्बा सत्रसँगै सुरु भई वाक र रनमा कार्यक्रम अघि बढेको थियो ।

सधैं घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि समय निकाल्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक संस्था अध्यक्ष नमराज जोशीले बताए ।

Sharing Is Caring:

Leave a Comment