आईपीएलमा अब स्लो ओभर रेटका कारण कप्तानमाथि खेल प्रतिबन्ध नलगाइने

Dipa Bhatt

२०८१ चैत ७ गते

७ चैत, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) को लागि खेल नियमहरू परिमार्जन गरेको छ।

बलरले थुकको प्रयोग गर्न पाउने र दोस्रो इनिङमा दुई नयाँ बलको प्रयोग गरिनेबाहेक अर्को मुख्य परिवर्तन ओभर-रेट उल्लंघन (स्लो ओभर रेट) मा आएको छ, जसमा अब कप्तानमाथि खेल प्रतिबन्ध लाग्ने छैन।

अब कप्तानलाई प्रतिबन्धको सट्टा डिमेरिट पोइन्ट दिइने बीसीसीआई स्रोतलाई उद्धृत गर्दै क्रिकबजले जनाएको छ । यदि गम्भीर उल्लंघन भयो भने मात्रै प्रतिबन्ध लाग्न सक्छ। मुम्बईमा बिहीबार भएको बैठकमा बोर्डले सबै १० फ्रेन्चाइजका कप्तान र टिम म्यानेजरलाई नयाँ नियमबारे जानकारी गराएको छ।

अब यदि कुनै टिमले स्लो ओभर रेट राखेमा कप्तानलाई २५-७५ प्रतिशत म्याच शुल्क जरिवाना तिर्नुपर्नेछ र केही डिमेरिट पोइन्ट थपिनेछ। लेभल १ उल्लंघनमा कप्तानलाई जरिवाना र डिमेरिट पोइन्ट दिइनेछ, जबकि लेभल २ उल्लंघन गम्भीर भएमा ४ डिमेरिट पोइन्ट थपिनेछ।

यदि कुनै कप्तानले ४ डिमेरिट पोइन्ट पुर्‍याएमा १००% जरिवाना वा थप सजाय दिन सकिनेछ, तर ओभर-रेटको कारण तुरुन्त म्याच ब्यान भने हुने छैन।

यसअघि गत सिजनमा दिल्ली क्यापिटल्सका कप्तान रिषभ पन्तले स्लो ओभर रेटकै कारण एक खेल गुमाउनु परेको थियो भने मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्याले २०२४ को अन्तिम  खेलमा बेहोरेको प्रतिबन्धक कारण यस सिजनको पहिलो खेल गुमाउँदै छन्।

त्यसैगरी बोर्डले ‘इम्प्याक्ट प्लेयर’ नियमबारे पुनरावलोकन गर्ने बताएको छ । तर यो नियम कम्तीमा २०२७ सम्म भने लागू रहनेछ।

यस संस्करणका लागि सबै प्लेइङ कन्डिशनका बारेमा आधिकारिक जानकारी भने आउन बाँकी छ ।

Sharing Is Caring:

Leave a Comment