२०८१ चैत २ गते
काठमाडौँ — नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले युगान्डामा भइरहेको चारदेशीय प्रतियोगितामा केवल दोस्रो विजय हात बेहोरेको छ । पहिलो ५ मध्ये ४ खेल हारेर फाइनल दौडबाट बाहिरिइसकेको नेपालले शुक्रबार डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको हो ।
हङकङले इन्टाबेमा टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४ रन बनायो । केही प्रमुख खेलाडीविना उत्रिएको हङकङबाट ओपनर सान्जिन शाहजादले ५४ रन बनाइन् ।
उनले ४७ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरिन् । अर्की ओपनर नताशा मिल्सलाई पूजा महतोले शून्यमै आउट गरेकी थिइन् । केरी च्यान १६ र यास्मिन दास्वानी १४ रनमा आउट भए । नेपालबाट राजमती ऐरीले ३ विकेट लिइन् । उनले ४ ओभरमा १७ रनमात्र खर्चेकी थिइन् । कप्तान इन्दु बर्माले ४ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर २ तथा पूजा र ईश्वरी विष्टले १–१ विकेट लिए ।
ओपनर सम्झना खड्काले ४७ रन बनाएपछि नेपालले ३ बलअगाडि लक्ष्य पूरा गर्यो । प्लेयर अफ द म्याच सम्झनाले ४३ बल खेल्दै ३ चौका प्रहार गरिन् । सम्झना र इन्दुले पहिलो विकेटमा १० ओभरभित्र अर्धशतकीय साझेदारी गरेका थिए । इन्दु ३२ बल खेल्दै १ चौका प्रहार गरी १८ रनमा आउट भइन् । रोमा थापा र विन्दु रावल समान ४ रनमा रनआउट भए पनि पूजाले २६ बलमा अविजित २० रन बनाएर नेपाललाई जिताइन् । एलिसा यादव ५ रनमा अविजित रहिन् ।
नेपालले आइतबार हङकङसँगै तेस्रो स्थानको प्लेअफका लागि खेल्नेछ । हङकङले ६ खेलमा ३ मात्र जिते पनि फाइनल दौडबाट बाहिरिएको थियो । अफ्रिकी टोलीद्वय युगान्डा र नामिबिया आइतबार फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । आयोजक युगान्डाले ६ मध्ये ४ र नामिबियाले ३ खेल जितेका थिए । नेपाललाई पराजित गरेको भए हङकङ फाइनल पुग्ने थियो । तर, नेपालसँगको हारपछि हङकङ रनरेटमा नामिबियाभन्दा पछाडि रह्यो ।