मधेशमाथि एपीएफको संघर्षपूर्ण जित, कमलसिंहको अलराउण्ड प्रदर्शन

Dipa Bhatt

२०८१ फागुन २९ गते

२९ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफले संघर्षपूर्ण जित निकालेको छ । देउखुरी क्रिकेट रंगशालामा एपीएफले मधेश प्रदेशलाई २ विकेटले हराएको हो ।

मधेशले दिएको १६९ रनको लक्ष्य एपीएफले ३६ दशमलव ५ ओभरमा ८ विकेटकाे क्षतिमा पूरा गर्‍यो । एपीएफलाई जित दिलाउन कमलसिंह ऐरीले विजयी छ्क्का प्रहार गरे । उनले ३ छक्काकाे सहयाेगमा अविजित २८ रन बनाए । त्यसअघि सुमित महर्जनले ३५ तथा आसिफ शेखले ३४ रन बनाए ।

मधेश प्रदेशका कमल गुप्ताले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ४ विकेट लिए । प्रदीप पासवानले १ मेडनसहित २८ रन दिएर २ विकेट लिए । रुपेश सिंह र हरिशंकर शाहले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेश ४०.४ ओभरमा १६८ रनमा अलआउट भएको थियो । पवन सर्राफले सर्वाधिक ७७ रन बनाउनुबाहेक अन्यबाट सुदृढ ब्याटिङ हुन सकेन ।

कप्तान अनिल साहले १७, मयन यादवले ११ तथा रुपेश सिंह र प्रदिप पासवानले समान १० रन बनाए । अन्यले दोहोरो अंक छुनै सकेनन् ।

एपीएफका लागि कमलसिंह ऐरीले ९ ओभरमा ५५ रन दिएर ४ विकेट लिए । भुवन कार्की र रोहित पौडेलले २-२ तथा अभिषेक गौतमले १ विकेट लिए ।

एपीएफले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । मधेशले पहिलो खेलमा कोशीलाई हराएको थियो ।

Sharing Is Caring:

Leave a Comment