२०८१ फागुन २७ गते
२७ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि बुटवल लुम्बिनी फुटबल क्लबले डिफेण्डर नाथान माभिलालाई अनुबन्ध गरेको छ ।
बुटवल लुम्बिनीले मंगलबार विज्ञप्ती जारी गर्दै माभिलालाई अनुबन्ध गरेको जनाएको हो ।
बुटवल लुम्बिनीमा अनुबन्ध हुने माभिला दोस्रो विदेशी खेलाडी हुन् । क्लबले यसअघि नाइजेरियाका इजेकेल ओजिदीझा तमारालाई अनुबन्ध गरिसकेको छ ।
माभिलाले वेष्टहम युनाइटेड एकेडेमीबाट आफ्नो फुटबल यात्रा सुरु गरेको थियो । उनले विभिन्न देशका लिगहरुमा अनुभव संगालेका छन् । यस्तै उनले जोर्डनको लिगमा अल-फैसलीबाट उपाधि जितेका थिए ।
डिफेन्स र आक्रमणमा उत्कृष्ट प्रदर्शन गर्ने सक्ने माभिला बुटवल लुम्बिनीका लागि महत्वपूर्ण खेलाडी बन्न सक्ने क्लबले विश्वास राखेको छ ।
बुटवल लुम्बिनीमा अनुबन्ध भएपछि माभिलाले भने, ‘म बुटवल लुम्बिनी एफसीमा आबद्ध हुन पाउँदा खुशी छु । म टोलीलाई सफलता दिलाउन सबै योगदान दिनेछु ।’
माभिलाको अनुबन्धपछि टिम मजबुत बनेको बुटवल लुम्बिनीले जनाएको छ ।
बुटवल लुम्बिनी एफसीले नयाँ सिजनका लागि राष्ट्रिय टिमको मिडफिल्डर मनिष डाँगीलाई मार्की प्लेअर र भुटानका पुषपलाल शर्मालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
एनएसएलको तेस्रो संस्करण चैत १६ गतेदेखि सुरु हुँदैछ ।