२०८१ फागुन २६ गते
२६ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
भैरहवास्थित एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हराएको हो । पुलिसले दिएको २५० रनको लक्ष्य पछ्याएको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो ।
प्रज्वल थापाले सर्वाधिक ७२ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । मृनाल गुरुङले ३० रन बनाए । सलाहुद्दिन खानले १३ तथा कप्तान देव खनालले ११ रन बनाए ।
पुलिसका लागि सागर ढकालले १० ओभरमा ३२ रन दिएर ३ विकेट लिए । ललित राजवंशीले १० ओभरमा २३ रन दिएर २ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले २ तथा राशिद खान र कुशल भुर्तेलले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ६ विकेट गुमाएर २४९ रन बनायो । कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए भने आरिफ शेखले ५६ रन बनाए ।
लुम्बिनीका लागि अजय चौहानले १० ओभरमा ३८ रन दिएर ३ विकेट लिए । कृष्ण कार्कीले ६ ओभरमा ४० रन दिएर ३ विकेट लिए ।
यसअघि लुम्बिनीले पहिलो खेलमा कोशी प्रदेशलाई हराएको थियो ।