२०८१ फागुन २४ गते
काठमाडौँ — टीआईए, दीक्षालय, चेल्सी वर्ल्ड र नेक्सस एकेडेमी तेस्रो निस्ट कपमा शनिबार च्याम्पियन बनेका छन् । बास्केटबलको सिनियर ब्वाइजमा टीआईए, गर्ल्समा दीक्षालय र जुनियर गर्ल्स चेल्सी च्याम्पियन भयो । नेक्सस जुनियर ब्वाइज फुटबलमा विजेता बन्यो ।
भक्तपुर निस्ट स्कुलद्वारा आयोजित बास्केटबलको सिनियर ब्वाइज फाइनलमा टीआईएले बौद्ध स्कुललाई ५०–२६ स्कोरले पराजित गर्दा रोशन नगरकोटीले २६ स्कोर जोडे । आयोजक निस्ट तेस्रो भयो । गर्ल्सको फाइनलमा दीक्षालयले निस्टलाई २३–२० ले हरायो । दीक्षालयकी लाक्पा डोमा शेर्पाले ११ स्कोर गरिन् । चेल्सी तेस्रो बन्यो ।
जुनियर गर्ल्सको फाइनलमा चेल्सीले आर्या एकेडेमीलाई २५–७ ले हराउँदा लाजेन शेर्पाले १२ स्कोर जोडिन् । निस्ट तेस्रो स्थानमा रह्यो । फाइनलका सर्वाधिक स्कोरकर्तामा रोशन, लाक्पा र लाजेन आ–आफ्नो विधामा मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।
ब्वाइज फुटबलमा च्याम्पियन नेक्ससले फाइनलमा गोल्डेन सुनगाभालाई २–० गोलले हरायो । दुवै गोल विराजले गरे । विराज नै उत्कृष्ट खेलाडी चुनिए । निस्टका सक्षम न्यौपाने सर्वाधिक गोलकर्ता बने । डिफेन्समा गोल्डेन सुनगाभाका निर्मल भुजेल, गोलरक्षकमा आर्याका प्रिन्स महर्जन र प्रशिक्षकमा नेक्ससका सविन रन्जित उत्कृष्ट भए ।
विद्यार्थीमा स्वच्छ वातावरणबारे सचेतना जगाउने उद्देश्यले आयोजित क्लाइमेट च्याम्पियनको उपाधि नव सुन्ताखानले जित्यो । चेल्सी दोस्रो र राजश्री गुरुकुल तेस्रो भए । विजेतालाई निस्ट फाउन्डेसनका अध्यक्ष माधवप्रसाद बराल, कार्यकारी निर्देशक राजेन्द्रकुमार घिसिङ, प्रमुख कार्यकारी अधिकृत चन्द्र अधिकारीलगायतले पुरस्कृत गरे ।