तेस्रो जेसिज कपको उपाधि गुठी युनाइटेडलाई

Dipa Bhatt

२०८१ फागुन २४ गते

बागलुङ — बागलुङ जेसिजले आयोजना गरेको ‘तेस्रो जेसिज कप फुटबल’को उपाधि ग्रेस गुराँस गुठी युनाइटेडले जितेको छ । शनिबार भएको  खेलमा गुठीले टाइब्रेकरमा साबिक बिजेता बागलुङ सुधार केन्द्रलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । 

बागलुङको बाङगेचउर खेल मैदानमा भएको खेलको निर्धारित समयमा दुवै तर्फ १-१ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

पहिलो हाफमा गोलरहित खेल भएकामा दोस्रो हाफको ५६ औं मिनेटमा गुठीका विराज खत्रीले गोल गरेका थिए । त्यसलगत्तै बागलुङ सुधार केन्द्रका अफ्रिकन खेलाडी अबेक रिचार्जले ५७ औं मिनेटमै गोल फर्काएर बराबारी बनाएका थिए । फाइनल खेलमा गुठीका गोल किपर सौगात खड्का मेन अफ द म्याच घोषित भए ।

शुक्रबारको सेमिफाइनलमा बलेवा एफसीलाई पराजित गर्दै ग्रेस गुठी र पर्पल हेज एभिएमलाई हराएर बागलुङ सुधार केन्द्र फाइनल प्रवेश गरेका थिए । खेलमा नेपाल आर्मीको श्रीमेहरगण र जिल्ला प्रहरीको टिम भने क्वाटरफाइनलबाटै बाहिरिए ।

विजेता ग्रेस गुराँस गुठीले २ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

गण्डकी प्रदेशसभाका सदस्य तथा पूर्वमन्त्री दीपेन्द्रबहादुर थापाले खेलाडीलाई ट्रफी प्रदान गरे । साबिक बिजेता बागलुङ सुधार केन्द्रले १ लाख नगद पुरस्कार प्राप्त गर्‍यो । खेलमा ११ टिमले भाग लिएका थिए ।

केन्द्रका निशान थापा उत्कृष्ट खेलाडी घोषित भए । गुठीका गोल किपर सौगात खड्का उत्कृष्ट गोल किपर, केन्द्रका रोशन क्षेत्री उत्कृष्ट स्ट्राइकर, गुठीका संगीत छन्तयाल उत्कृष्ट डिफेन्डर, केन्द्रका सुशील लामा उत्कृष्ट मिडफिल्डर घोषित भए । गुठीकै मनिष श्रेष्ठ सर्वाधिक गोलकर्ता भए ।

विधागत उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाएको बागलुङ जेसिजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताए । म्याग्दी जिल्ला फुटबल संघ अनुशासित टिम घोषित भयो ।

Sharing Is Caring:

Leave a Comment