२०८१ फागुन २४ गते
२४ फागुन, बर्दिया । नेपालकै पहिलो खो खो लिग ‘ड्रिम खो खो’ प्रतियोगिता बर्दियामा हुने भएको छ । नेपाल खो खो संघको आयोजनामा र लुम्बिनी प्रदेश खो खो संघको व्यवस्थापनमा आगामी चैत २३ देखि ३० गतेसम्म पहिलो खो खो लिग हुने भएको हो ।
खो खो लिग बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको नेपालकै पहिलो खोखो कभर्डहल भुरिगाउमा आयोजना हुने नेपाल खो खो संघका वरिष्ठ उपाध्यक्ष छत्र बहादुर शाहीले जानकारी दिए ।
खो खो खेलमा सबै भन्दा बढी खेलाडी ठाकुरबाबा नगरपालिकामा उत्पादन भएको हुनाले पहिलो खो खो लिग पनि सोही पालिकामा प्रतियोगिता गर्न लागिएको वरिष्ठ उपाध्यक्ष शाहीले बताए । ठाकुरबाबा नगरपालिका खो खो खेलका लागि उर्वर भूमि मानिन्छ ।
‘नेपाली खेलकुदको इतिहासमै सामुहिक खेलबाट विश्वकप खेलेर उपविजेता बन्ने पहिलो खेल खो खो भएकोले यसको व्यावसायिक विकासका लागि लिग आवश्यक भएकोले ड्रिम खो खो लिग आयोजना गर्न लागेका हौं’ वरिष्ठ उपाध्यक्ष शाहीले भने, ‘खो खो खेलको विकासमा ठाकुरबाबा नगरपालिका उर्वर भूमि रहेको र यहाँबाट धेरै खेलाडी उत्पदन भएकोले पहिलो संस्करण यही गर्न लागेका हौँ ।’
शाहीका अनुसार पहिलो संस्करणमा विभिन्न ६ टिमले खो खो लिगमा प्रतिस्पर्धा गर्नेछन् । हरेक टिममा १२ खेलाडी हुनेछन् । त्यसमा अन्तर्राष्ट्रिय खो खो प्रतियोगिता खेलेका १, राष्ट्रिय २, प्रदेशका ३ र जिल्ला स्तरका ६ जना खेलाडी समावेश हुने संघले जनाएको छ । साथै हरेक टिममा एक प्रशिक्षक र व्यवस्थापक समेत हुनेछन् ।
पुसको अन्तिम सातामा भारतको दिल्लीमा भएको पहिलो खो खो विश्वकप प्रतियोगितामा बर्दिया जिल्लाबाटै मात्र १२ जना खेलाडी सहभागी भएका थिए । जहाँ नेपालको पुरुष र महिला खो खो टिम उपविजेता बनेको थियो । २०७० साल देखि ठाकुरबाबा नगरपालिकामा खो खो खेलको प्रवर्द्धन गर्न सुरु गरिएको थियो ।
लिगका लागि खेलाडी दर्ता अनलाइनमार्फत हुने खो खो संघले जनाएको छ । पहिलो पटक आयोजना गर्न लागिएको ड्रिम खो खो लिगका लागि खेलाडीहरु उत्साहित रहेको र लिग आयोजना गर्न नेपाल खो खो संघ पनि तयार रहेको वरिष्ठ उपाध्यक्ष छत्र बहादुर शाहीले बताए ।
राष्ट्रिय खेलकुद परिषद र लुम्बिनी प्रदेश सरकारको प्रवर्द्धनमा सञ्चालन हुने खो खो लिगमा ठाकुरबाबा नगरपालिका, बर्दिया मुख्य प्रवर्द्धकका रूपमा रहनेछ ।