२०८१ फागुन २३ गते
२३ फागुन, काठमाडौं । युरोपियन राष्ट्र सर्वियाका लाजर अर्सिकले झापा एफसीबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।
झापा एफसीले शुक्रबार सर्वियन अट्याकिङ मिडफिल्डर लाजरलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको घोषणा गरेको हो । लाजरसँग सर्वियादखि युरोपकै हंगेरी र ग्रीस तथा एसियाको दक्षिण कोरिया र चीनको व्यावसियक लिग खेलेको अनुधव छ ।
सर्वियाको शीर्ष श्रेणीको सर्वियन सुपर लिग, चीनको शीर्ष श्रेणीको लिग चाइनिज सुपर लिग र लेबनानको शीर्ष श्रेणीको लिग लेबनानिज प्रिमियर लिगको अनुभव लिइसकेका लाजरले कोरिया, ग्रीस र हंगेरीको दोस्रो श्रेणीको लिग खेलेका छन् ।
लकेन लिम्बु मार्की प्लेअर रहेको झापाले दोस्रो विदेशी खेलाडीको रुपमा लाजरलाई अनुबन्ध गरेको हो । झापाले यसअघि उज्वेकिस्तानको डिफेण्डर अजामात अब्दुलेभलाई अनुबन्ध गरिसकेको छ ।
झापाले डिफेण्डर छिरिङ लामालाई रिटेन गरेको थियो भने अक्सनबाट आशिष गुरुङ, अविनाश स्याङ्गतान, दिपेश धिमाल, एन्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक र उज्वल राईलाई अनुबन्ध गरेको थियो । यस्तै झापाले एनआरएन कोटाका प्रविन बस्नेतलाई भित्र्याइसकेको छ ।
झापाले मुख्य प्रशिक्षकमा दुई पटक ए डिभिजन लिग जितेको प्रवेश कटवाललाई अनुबन्ध गरिसकेको छ । यस्तै सहायक प्रशिक्षकमा कुवेर गिरी तथा गोलकिपर प्रशिक्षकमा मिन बस्नेत छन् भने राष्ट्रिय टिमका पुर्व कप्तान तथा महिला राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक हरि खड्कालाई ब्राण्ड एम्बासडर नियुक्त गरेको छ ।
दोस्रो सिजन झापासँगै एनएसएलमा डेब्यु गरेको स्पोर्टिङ इलामी एफसीले तेस्रो सिजन नखेल्ने निर्णय गरेपछि झापा एफसी कोशी प्रदेशबाट तेस्रो संस्करणको एनएसएल खेल्ने एक्लो टिम बन्ने भएको छ ।