२०८१ फागुन २२ गते
२२ फागुन, काठमाडौं । अफगानिस्तानका अलराउण्डर अजमतुल्लाह ओमरजाई आईसीसी वरियताको शीर्षस्थानमा उक्लिएका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार ओमरजाई दुई स्थान माथि उक्लँदै शीर्ष वरियतामा पुगेका हुन् । यसअघि अफगानिस्तानकै मोहम्मद नाबी शीर्षस्थानमा थिए ।
नाबी अब दोस्रो स्थानमा छन् भने यसअघि दोस्रो स्थानमा रहेका सिकन्दर राजा तेस्रोमा पुगेका छन् । ओमरजाईको रेटिङ २९६ छ भने नाबीको २९२ र राजाको २९० छ ।
वरियताको चौथो स्थानमा बंगलादेशका मेहदी हसन मिराज, पाँचौंमा न्युजिल्याण्डका मिचेल सान्टनर, छैटौंमा अफगाननिस्तानका राशिद खान छन् ।
त्यस्तै सातौंमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, आठौंमा नामिबियाका ब्रान्डन माकमुलेन, नवौंमा भारतका रविन्द्र जडेजा र १०औंमा नामिबियाका कप्तान जेरार्ड एरासमस यथावत् छन् ।
ओमरजाईले हाल भइरहेको च्याम्पियन्स ट्रफीमा पनि शानदार प्रदर्शन गरेका थिए । उनले ३ खेलमा १२६ रन बनाउनुका साथै ७ विकेट पनि लिएका थिए जसमा इंग्ल्याण्डसँग एकै खेलमा म्याच विनिङ ५ विकेट लिएका थिए ।
नेपाली खेलाडीहरू कहाँ ?
पछिल्लो समय नेपाली खेलाडीहरूको कुनैपनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । त्यसकारण वरियतामा आफ्नै प्रदर्शनको कारण हलचल भएको छैन । अन्य खेलाडीहरूको वरियतामा हेरफेर भएको अवस्थामा नेपाली खेलाडीहरूको वरियतामा सामान्य परिवर्तन आउन सक्छ ।
एकदिवसीयको अलराउण्डर वरियतामा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने समान १३२ रेटिङसहित ५८ देखि ६०औं वरियतामा छन् ।
ब्याटिङतर्फ आसिफ शेख ८७औं, कुशल भुर्तेल ९१औं तथा कप्तान रोहित पौडेल ९४औं स्थानमा छन् । बलिङमा सन्दीप ४८औं तथा ललित राजवंशी ५५औं स्थानमा छन् ।