२०८१ फागुन २१ गते
गत असार २३ गते ठेक्का सम्झौता भएर काम थालिएको क्रिकेट रंगशालाको हालसम्म १५ प्रतिशत भन्दा बढी काम सकिएको छ । ठेकदार कम्पनीले अहिले दुईवटा भीआईपी टावरसहितको ड्रेसिङ रुमहरूको लागि फाउण्डेशन तयार गरिरहेको छ ।
२१ फागुन, चितवन । चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान तथा पिचको काम सुरु हुने भएको छ । रंगशाला निर्माणको ठेक्का पाएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले बंगलादेशी क्यूरेटसमेत ल्याएर मैदानसहित पिचको काम सुरु गर्न लागेको हो ।
अहिले भएको मैदानको भागको माटो निकालेर चाँडै पानी सोस्ने र मैदान हिलो नहुने गरी पाइपहरु बिछ्याउने तयारी छ । ‘माथि पानी सोस्ने खालको माटो राख्ने गरी डिजाइन गरिएको छ, सोही अनुसार ठेकदार कम्पनीले मैदानको काम अगाडि बढाउने छ,’ भरतपुर महानगरपालिकाका सिनियर डिभिजन इन्जिनियर सन्तोष आचार्यले भने । मैदानसँगै पिचको काम पनि सँगसँगै अगाडि बढ्ने उनको भनाइ छ ।
मैदानमा ५ वटा पिचहरु तयार गरिने छन् । गत असार २३ गते ठेक्का सम्झौता भएर काम थालिएको क्रिकेट रंगशालाको हालसम्म १५ प्रतिशत भन्दा बढी काम सकिएको छ । ठेकदार कम्पनीले अहिले दुईवटा भीआईपी टावरसहितको ड्रेसिङ रुमहरूको लागि फाउण्डेशन तयार गरिरहेको छ । यस्तै दुवै प्याराफिटमा समेत काम सँगसँगै अगाडि बढिरहेको छ ।
सुरुमा धुर्मुस–सुन्तली फाउन्डेसनले नेतृत्व लिएर बनाउन थालेको रंगशाला बजेटको अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट झण्डै २ वर्ष रोकिएको थियो ।
त्यसपछि बाँकी कामको स्वामित्व भरतपुर महानगरपालिकाले लिएको थियो ।
संघ, प्रदेश र महानगर आफैंलेसमेत लगानी गर्ने गरी २०८१ साउनबाट रंगशालाको काम ठेक्कामार्फत अगाडि बढेको हो । ७८ करोड रूपैयाँमा बनाइसक्ने गर्ने गरी ठेक्का लगाएर पहिलो चरणको काम थालेको रंगशालामा अहिले दैनिक २ सयभन्दा बढी कामदारले नियमित काम गरिरहेका छन् ।
ठेकदार कम्पनीले सिमेन्टको समस्याका कारणले अझै सोचे जति प्रगति गर्न नसकेको जनाएको छ । रंगशालाको पहिलो चरणमा दस हजार जना दर्शक अट्ने प्यारापिट तयार हुनेछ ।
यसअघि, धुर्मुस–सुन्तली फाउण्डेशनले ३ हजार जना अट्ने प्याराफिटको संरचना तयार गरिसकेको थियो । साथै उसले २८६ वटा पिलर पनि उठाइसकेको थियो ।
महानगरका इन्जिनियर आचार्यका अनुुसार मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण गरिने छ । २ वटा ३/३ तलाका भीआईपी टावर पनि बनाइने छ । एउटामा भीआईपी र खेलाडीहरु रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् ।
इन्जिनियर आचार्यका अनुसार अहिले पश्चिमतर्फको प्याराफिटको ढलान गर्न फर्मा लगाउने काम भैरहेको छ । ढलान सकिँदा फागुन महिनाभित्र नै प्रगति २० प्रतिशत पुग्ने आचार्यले जानकारी दिए । उनले चैत महिनासम्म टावर १ र २ दुवैको पहिलो तलाको ढलान हुने विश्वास व्यक्त गरे ।
३० महिना भित्र निर्माण सक्ने गरी भएको ठेक्का सम्झौता अनुसार अब २२ महिना बाँकी छ । बर्खायाममा स्ट्रक्चर भित्र बसेर काम गर्न मिल्ने गरी संरचनाहरू तयार गरिने महानगरका इन्जिनियर आचार्यले जानकारी दिए ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशाला निर्माणका लागि बजेटको अभाव नहुने बताइन् ।
रंगशाला अनुगमन गर्ने क्रममा महानगर प्रमुख दाहालले रंगशालाका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको २५ करोड, प्रदेश सरकारको १० करोड र भरतपुर महानगरको ५ करोड रकम महानगरसँग रहेको बताइन् ।
रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय गत वर्ष माघ २३ गते गरेको थियो ।
उनले केही रकम मोबिलाइजेसनका रुपमा ठेकदार कम्पनीलाई सम्झौताको बेलामा नै दिइएको बताइन् । ‘रंगशालाका लागि बजेटको अभाव हुँदैन, प्रदेश सरकारसँग ७०/३० को लागत रहने गरी बजेट सुनिश्चित भैसकेको छ,’ मेयर दाहालले भनिन्, ‘महानगरपालिकाका तर्फबाट रंगशाला चाँडै बनाउने विषयमा सबै खालको सहजीकरण हुनेछ ।’
उनले गौतमबुद्ध क्रिकेट रंगशाला राष्ट्रको गौरवको परियोजना पनि भएकाले तोकिएको समयभन्दा अगाडि नै पहिलो चरणको ठेक्काको काम सकिने बताइन् । दोस्रो चरणमा थप १५ हजार जना अट्ने प्यारापिट, कुर्सी र फ्लड लाइट जडानको काम गरिने बताइन् ।
संघीय मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले गौतमबुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजना भित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरु मिलेर पूरा गर्ने निर्णय गरेको थियो ।
एक्साट्रेक ओभलका मालिक भन्छन् : भरतपुरबाटै सिकें
रुपन्देहीको भैरहवामा निर्माणाधीन एक्साट्रेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका मुख्य लगानीकर्ता विनोद कुँवरले भरतपुरमा रहेको गौतमबुद्ध क्रिकेट रंगशाला बन्ने देखेर नै आफूले भैरहवामा निजी लगानीमा रंगशाला तयार गर्न लागेको जनाएका छन् ।
गौतमबुद्ध रंगशालाको अनुगमन निरीक्षण गर्दै सञ्चालक कुँवरले धुर्मस–सुन्तली फाउण्डेसनले भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन थालेपछि त्यहीँबाट प्रेरणा लिएर निजी लगानीमा नै रंगशाला बनाउन थालेको बताएका हुन् । ‘गौतमबुद्ध क्रिकेट रंगशालालाई मेरो स्टेडियमको फादर नै मान्छु, पहिला नै आएर हेर्न मन लागेको थियो, तर समय मिलेको थिएन, अहिले महानगरले स्वामित्व लिएर काम गरेपछि झनै खुसी भएर हेर्न आएँ’ कुँवरले भने, ‘काम धेरै राम्रो तरिकाले अगाडि बढेको रहेछ, यही गतिमा काम भए चाँडै नै काम सकिन्छ जस्तो लाग्यो ।’
उनले भरतपुर महानगरले ठूला पूर्वाधार बनाउनतिर लागेको र आफूहरू आईसीसीको मापदण्ड पूरा गर्नतर्फ लागेको बताए ।
भैहरवाको रंगशालाको काम ५० प्रतिशत जति सकिएको जानकारी दिँदै उनले अबको २० महिनामा सबै काम सक्ने लक्ष्य रहेको उनले बताए ।
६५ करोड कुल लागत अनुमान गरिएको भैरहवाको रंगशाला २५ हजार क्षमताको हुने जानकारी गराउँदै सञ्चालक कुँवरले देशमा कम्तीमा पनि ५ वटा अन्तर्राष्ट्रिय स्तरका रंगशाला चाहिने बताए । ‘एकदिवसीय मान्यता कायम राखिराख्न र टेष्ट मान्यता पाउँदा ठूला पूर्वाधार तयार गर्नुपर्छ,’ कुँवरले भने, ‘निजी तथा सरकारी लगानीमा यी काम हुनुपर्छ ।’