२०८१ फागुन २० गते
बागलुङ — बागलुङ जेसिजले आयोजना गरेको तेस्रो संस्करणको ‘जेसिज कप’ फुटबल प्रतियोगितामा यहाँको रुद्रे पिपल युवा क्लबविरुद्ध आर्मीको गोल वर्षा भएको छ । मंगलबार भएको खेलमा आर्मीको श्रीमेहर गणले रुद्रे पिपललाई शून्यका विरुद्ध ७ गोलले पराजित गरेको हो ।
आर्मीका मदन लिम्बुले तेस्रो मिनेटमै गोल गरेर खेललाई अग्रता लिलाएका थिए । त्यसपछि उनले बाह्रौं, ६९ औं र ७७ औं मिनेटमा गोल गरे । विकास मगरले २१ औं मिनेटमा, किसन राईले ६८ र मबिन तुम्बाहाम्फेले ७८ औं मिनेटमा गोल गरे ।
यसअघि सोमबार भएको खेलमा बलेवा फुटबल क्लब हाइकर्स युनाइटेडलाई ३-२ अन्तरले पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेको छ ।
बिहीबार बलेवा र आर्मीबीच दोस्रो चरणको खेल हुने आयोजक बागलुङ जेसिजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ११ टिम सहभागी छन् ।
खेलमा प्रथम हुनेले २ लाख नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् । द्वितीयलाई १ लाख नगदसहित ट्रफी र मेडल दिइने आयोजकले जनाएको छ ।