राष्ट्रिय खेलकुदको मिति पर सार्न मिल्दैन : मुख्यमन्त्री कँडेल

Dipa Bhatt

२०८१ फागुन २० गते

काठमाडौँ — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्‌लाई आग्रह गरेका छन् ।

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको आज काठमाडौंमा सम्पन्न बैठकमा मुख्यमन्त्री कँडेलले पटकपटक मिति सार्ने कामले प्रतियोगितालाई अन्योल बनाउने र जनविश्वास गुम्ने हुँदा अब मिति सार्ने काम नगर्न परिषद्‌लाई आग्रह गरेका हुन् ।

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २ देखि १० सम्म हुने तय भएको छ । पटकपटक मिति सरेपछि आजको बैठकमा मुख्यमन्त्री कँडेलले जेठभन्दा पर जान नसकिने धारणा राखेका हुन् ।

‘अहिलेको प्रस्तावित मिति त्यति अनुकूल होइन तर त्योभन्दा पर जान सक्ने स्थिति छैन,’ उनले भने । प्रदेश सरकारले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रंगशाला निर्माण लगायतका कामलाई पहिलेदेखि नै तीव्र गतिमा अगाडि बढाइरहेको बताउँदै मुख्यमन्त्री कँडेलले प्रतियोगिता सफल पार्न प्रदेश सरकारले आफ्नो जिम्मेवारी पूरा गर्ने भनाइ राखे ।

प्रतियोगिताका लागि निर्देशिका बनाउन खेलकुद मन्त्रालयले समन्वय नगरेको उनले बताए । ‘प्रदेश सरकार पनि सामेल हुने निर्देशिका रहेछ, निर्देशिका बनाउँदा हामीलाई पनि सामेल गराएको भए अझ राम्रो हुने थियो, तर जे बनाउनु भएको छ त्यसमा हाम्रो जिम्मेवारी पूरा गछौँ,’ उनले भने ।

Sharing Is Caring:

Leave a Comment