छैटौं सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते

Dipa Bhatt

२०८१ फागुन १९ गते 

१९ फागुन, काठमाडौं । ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ आगामी चैत ७ गते आयोजना हुने भएको छ । छैटौं संस्करणको अवार्ड आगामी चैत ७ गते हुने गरी तयारीमा जुटेको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले बताए ।

‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्दै आएको छ’ उनले भने, ‘छैटौं संस्करणलाई थप स्तरीय बनाउनका लागि अहिलेदेखि नै तयारी थालेका छौं । यसपाली खुल्ला मैदानमा अवार्डलाई आयोजनाको तयारी थालेका छौं।’

अवार्डमा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने मञ्चका कोषाध्यक्ष नवराज पनेरुले बताए ।

उनका अनुसार उत्कृष्ट खेलाडी पुरूष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाईम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरूष विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरूष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने कोषाध्यक्ष पनेरुले बताए ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरूष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी प्रदान गरिनेछ । यस्तै अवार्डलाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले साथ दिएको छ ।

अवार्ड कार्यक्रमलाई हरेक वर्ष प्रवर्द्धन गर्दै आएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले यसपाली पनि मुख्य प्रवर्द्धक भएर साथ दिएको हो । परिषद्का सदस्य सचिव सिंहले खेलकुद पत्रकार मञ्चसंग मिलेर खेलाडी र प्रशिक्षकको मनोवल बढाउने काम भइरहेको बताए ।

Sharing Is Caring:

Leave a Comment