२०८१ फागुन १८ गते
ताप्लेजुङ — महाशिवरात्री पर्वमा हरेक वर्ष सञ्चालन हुने ‘रघुनाथ–छत्रमाया (रछ) मेमोरियल आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि माछापोखरी हिटी क्बल चाँगेले जितेको छ । हिटी क्लबले लगातार तेस्रोपटक उपाधि जितेको हो ।
लगातार तेस्रो वर्षको जितसँगै चाँगेले २ तोला सुन र २ सय ५० तोला चाँदीजडित शिल्ड पचाएको छ । आयोजक जलजले क्लबका अध्यक्ष रुपनारायण घिमिरेका अनुसार चाँगेले अब आयोजकलाई शिल्ड फिर्ता गर्नु पर्ने छैन । आयोजकले छुट्टै व्यवस्था गर्नुपर्ने छ ।
शनिबार सम्पन्न फाइनलमा ताप्लेजुङको चाँगेले म्याङलुङ र्स्पोटिङ क्लब तेह्रथुमलाई २–१ गोलले पराजित गरेको हो । उसका लागि कुञ्जमान थापा र पुजन चौधरीले गोल गरे । उपविजेता म्याङ्लुङका विशाल काफ्लेले सान्त्वना गोल फर्काए । चाँगेले नगद २ लाख ६१ हजार पनि प्राप्त गरेको छ ।
यो पुरस्कारको प्रायोजन ताप्लेजुङ–साँघु समाज हङकङले गरेको हो । सुन र चाँदी जडित शिल्ड भनें विष्णुमाया, मनमाया, शुक्रराज, पहलमान, मन कुमारी, देवी माया, शान्ति माया र सिर्जना फागो चोङवाङले सौजन्य गरेका हुन् । उपविजेता तेह्रथुमले १ लाख ३१ हजार प्राप्त गर्यो । दोश्रो पुरस्कारको प्रायोजन प्रतिनिधिसभा सदस्य योगेश भट्टराई र साँघु समाज दक्षिण कोरियाले गरेका हुन् ।
भट्टराईले १ लाख र साँघु समाज दक्षिण कोरियाले ३१ हजार प्रदान गरे । सर्वाधिक गोलकर्ता चाँगेका कुन्जमान थापाले प्रतियोगिता अवधिभर ४ गोल गरे । थापा सहित म्याङलुङका प्रेम लिम्बु वेस्ट गोलकिपर, चाँगेका अशोक खवास सर्वोत्कृष्ट खेलाडी भए र नगद नगद तीन हजारका दरले पुरस्कार प्राप्त गरे ।
फागुन १३ देखि भएको प्रतियोगितामा ८ टिम सहभागी थिए ।