नेपालका पुरुषोत्तमलाई चेस उपाधि

Dipa Bhatt

२०८१ फागुन १८ गते

काठमाडौँ — नेपालका उदीयमान युवा खेलाडी पुरुषोत्तम सिलवालले गोकर्णेश्वर नगर मेयर कप खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता जितेका छन् । माउन्ट एभरेस्ट चेस एन्ड सोसियल क्लबको आयोजना र गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा पाँच दिनसम्म चलेको प्रतिस्पर्धामा पुरुषोत्तमले अपराजित रहँदै उपाधि जितेका हुन् ।

फागुन १४ देखि सुरु प्रतियोगितामा पुरुषोत्तमले ९ चरणको क्लासिकल खेलबाट ७ जित २ बराबरी नतिजा निकाल्दै एकल ८ अंक जोडेर च्याम्पियन भएका हुन् । गत महिना २५ औं राष्ट्रिय खेलमार्फत नेपाल दोस्रो भएका १९३७ रेटेड पुरुषोत्तम अन्तिम तीन चरणको खेलमा क्रमशः भारतीय खेलाडीमाथि हाबी हुँदै प्रथम भएका हुन् ।

१९ वर्षीय पुरुषोत्तमले २१५८ रेटिङ पर्फोम गर्दै उपाधि जित्ने क्रममा आफ्नो व्यक्तिगत ८८ फिडे रेटिङसमेत बढाउन सफल भए । उनले नगद ५१ हजारसहित गोल्डमेडल ट्रफी हात पारे । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ स्थित बौद्ध इन्टरनेसनल स्कुलको सभाहलमा चलेको अन्तिम खेलपश्चात् २०७० रेटेड खेलाडी एफएम क्षितिज भण्डारीले ७ अंक प्रोग्रेसिभ ४८ प्वाइन्टका आधारमा दोस्रो हुँदै नगद २५ हजार पाए ।

भारतका १७१८ रेटेड खेलाडी मज इकबाल समान ७ अंकमा प्रोग्रेसिभ ४७ प्वाइन्ट जोडेर तेस्रो भई १६ हजार पाए । नेपालका १९६५ रेटेड सीएम सजिन महर्जनले चौथो हुँदै नगद ८ हजार जिते । समान ७ अंकमा १८७३ रेटेड राजन पुरीले पाँचौं हुँदै नगद ६ हजार पाए भने भारतका १८७१ रेटेड आशुतोष कुमारले ६.५ अंक प्रोग्रेसिभ ४६.५ प्वाइन्टमा छैटौं हुँदै नगद ५ हजार हात पारे ।

सातौं स्थानदेखि बाह्रौं स्थानमा रही जनही नगद ४–४ हजार प्राप्त गर्ने खेलाडीमा क्रमशः भारतका आभासकुमार श्रीवास्तव, नेपालका कृष्ण थापा, भारतका अर्मान सिद्दकी, प्रखर त्रिपाठी, सुरोज महर्जन र आशिष फुयाल छन् । प्रतियोगिताअन्तर्गत विधागत पहिलो र दोस्रो पुरस्कार प्राप्त गर्ने उत्कृष्ट महिलामा नेपाल च्याम्पियन सिन्दिरा जोशी र भारतका प्रकाश वैष्णवी, उत्कृष्ट सिनियर खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठ, सुमन मोक्तान, उत्कृष्ट अनरेटेड प्रयास कोइराला र अंकित पौडेल, इलो १८ सयमुनि सुशील सुवेदी र कवीन्द्र सिवाकोटी छन् ।

गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल, क्लबका अध्यक्ष मोहन कार्कीलगायतले विजेता खेलाडीलाई पुरस्कार वितरण गरे ।

Sharing Is Caring:

Leave a Comment