२०८१ फागुन १८ गते
१८ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक सार्वजनिक गर्दै छ । आइतबार अपराह्न ४ बजे एक कार्यक्रम गरी प्रशिक्षकको घोषणा गरिने एन्फाले जनाएको छ ।
पछिल्लो समय चर्चामा रहेका अस्ट्रेलियन प्रशिक्षक म्याट रोसलाई एन्फाले प्रशिक्षकका रूपमा सार्वजनिक गर्न लागेको हो । उनीसँग एक वर्षको सम्झाैता गर्ने तयारी भएको बुझिएको छ । आजै सोही क्रममा मुख्य प्रशिक्षकसँग अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ ।
भिनसेन्जो अल्बर्टो एनेसको बहिर्गमनपछि नेपाली फुटबल टिम मुख्य प्रशिक्षकविहीन छ । विदेशी प्रशिक्षक नहुँदा नेपालले नविन न्यौपानेको प्रशिक्षणमा ताजिकिस्तान गएर घरेलु टोली र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
राष्ट्रिय फुटबल टिम मुख्य प्रशिक्षकविहीन नै बनेपछि एन्फाले न्यौपानेलाई दुई खेलको लागि अन्तरिम प्रशिक्षक बनाएको थियो । त्यसयता नेपालले कुनै खेल खेलेको छैन ।
गत भदौमा एन्फाले इटालियन एनेसलाई मुख्य प्रशिक्षकमा निरन्तरता नदिने निर्णय गरेपछि नयाँ प्रशिक्षकको खोजी सुरु भएको थियो ।
अब एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल नजिकिँदै जाँदा एन्फाले नयाँ प्रशिक्षक नियुक्त गर्न लागेको हो ।