केपी ओली कप फुटबलको उपाधिमा मच्छिन्द्र र आर्मीको दाबी

Dipa Bhatt

२०८१ फागुन १८ गते

१८ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता मच्छिन्द्र एफसी र विभागीय टोली त्रिभुवन आर्मी एफसीबीच सोमबार प्रतिस्पर्धा हुँदैछ ।
फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।

मच्छिन्द्रले यसअघिको दुवै संस्करणको उपाधि जितेको थियो र लगातार तेस्रोपटक फाइनल खेल्दैछ । यस्तै आर्मी भने पहिलोपटक केपी ओली कप फुटबलको फाइनल खेल्दैछ । मच्छिन्द्रले आयोजक केपी ओली एफसीलाई तथा आर्मीले संकटालाई हराएर फाइनल प्रवेश गरेको हो ।

दुवै टोलीका कप्तान र प्रशिक्षकले फाइनलका लागि तयार रहेको र उपाधि जित्ने दाबी गरेका छन् । मच्छिन्द्र क्लबका प्रशिक्षक सन्तोष न्याैपानेले फाइनलका लागि तयार रहेको र साविक विजेता भएकोले दबाब पनि भएको बताए । ‘हामी फाइनलका लागि तयार छाैं, साविक विजेता भएकोले दबाब छ’ प्रशिक्षक न्याैपानेले भने, ‘हामी ९० मिनेटमै गोल गरेर नतिजा निकाल्ने लक्ष्यमा छाैं।’

यस्तै मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले पनि प्रशिक्षकले भनेजस्तै फाइनलका लागि तयार रहेको र राम्रो खेल्दै जित्ने प्रयास गर्ने बताए । ‘तेस्रो पटक फाइनल खेल्न जाँदैछाैं त्यसमा खुसी छाैं। हामीले मिहिनेत गरिराछाैं । फाइनलमा राम्रो खेलेर जित्ने प्रयास गर्नेछाैं’ उनले भने । विशालले मच्छिन्द्र र आर्मीको खेल सधैं अन्तिमतिर भाइटल हुने र यसपटक पनि फाइनल खेल रमाइलो हुने बताए ।

आर्मीका प्रशिक्षक मेघराज केसीले पनि दुवै टिम राम्रो खेलेर फाइनल आइपुगेको र फाइनलमा पनि राम्रो खेल्दै उपाधि जित्न प्रयास गर्ने बताए । ‘दुवै क्लबले क्वाटरफाईनल र सेमिफाइनल जितेर यहाँसम्म आइपुगेका छाैं । मच्छिन्द्र विदेशी र राष्ट्रिय खेलाडीको समिश्रणले राम्रो टिम छ’ केसीले भने, ‘आर्मी टिममा पनि युवा खेलाडीहरु समावेश गरेर उत्कष्ट बनाउँदैछौं।’

केसीले फाइनलमा यसअघिका कमजोरी सुधार गर्दै राम्रो खेल्ने बताए । ‘हामी हाम्रो दुई खेलको कमजोरी सुधार गरेर मच्छिन्द्रको बलियो पक्षलाई रोकेर कमजोर पक्षमा धावा बोलेर केपी ओली कप आफ्नो पक्षमा पार्ने लक्ष्य छ’ उनले भने ।

आर्मीले लिगका लागि नयाँ खेलाडीलाई तयार पारेर टिम बनाउने माैका पाएको र अब नतिजा दिने बेला आएको केसीले बताए । ‘अब हामी रिजल्ट दिँदै जानेछाैं’ केसीले भने ।

यस्तै आर्मीका कप्तान जिलेस्पी जंग कार्कीले सबैको मिहिनेतले फाइनल पुगेको र प्रशिक्षकको रणनीति अनुसार फाइनल खेल्ने बताए । ‘सबैको कडा मिहिनेतले नै यहाँसम्म पुगेका छाैं । फाइनलका लागि योजना बनाएका छाैं र त्यही अनुसार फाइनल खेल्नेछाैं’ उनले भने । जिलेस्पीले व्यक्तिगत प्रदर्शन राम्रो भएको विषयमा टिम वर्क राम्रो भएकोले आफ्नो खेल राम्रो देखिएको बताए ।

उक्त फाइनल खेल हेर्न विश्वकप विजेता इटालियन लेजेण्डरी गोलकिपर जियानलुजी बुफोन पनि उपस्थित हुनेछन् । उनी आइतबार नेपाल आइपुगिसकेका छन् ।

फाइनल खेलअघि कुमा सागर एण्ड ख्वपा ब्याण्ड तथा जोन एण्ड दाजुभाईको सांगितिक प्रस्तुति पनि हुनेछ । त्यसपछि फाइनल सुरु हुनेछ । एन्फाले ६ बजे सुरु गर्न सुझाव दिएकोले फाइनल ६ बजे सुरु हुने आयोजकका प्रवक्ता कृष्णहरी केसीले बताए ।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । उत्कृष्ट खेलाडीलाई १ लाख तथा विधागत उत्कृष्टलाई ५० हजार पुरस्कार रहनेछ ।

Sharing Is Caring:

Leave a Comment