‘कमब्याक क्विन’ रेनुका

Swastika Bhandari

फाल्गुन १८, २०८१काठमाडौँ — केही महिनायता जतिले रेनुका नगरकोटेको खेल नजिकबाट हेरिरहेका थिए, तिनलाई भने कुनै आश्चर्य लागेन, जब उनी फोर नेसन्स कपको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भइन् । तर रेनुका आफैंलाई ? ‘प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुन्छु भन्ने मलाई त विश्वास नै थिएन,’ उनको जवाफ थियो । एक समय त रेनुकालाई के लागिसकेको थियो भने अब उनको खेल जीवन टुंगियो, अगाडि बढ्दैन । तर तिनै मिडफिल्डर अहिले नेपाली महिला राष्ट्रिय फुटबल टिमकी सबैभन्दा विश्वास गर्न योग्य खेलाडी भएकी छन् । नेपाली महिला फुटबलमा सबैभन्दा लामो समय लगातार खेलिरहने खेलाडीमा पनि पर्छिन्, रेनुका ।अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले पहिलोपल्ट खेलेको फाइनल सन् २०१० को दक्षिण एसियाली खेलकुद (साग) थियो । यो प्रतियोगिता बंगलादेशमा भएको थियो । त्यसपछि फोर नेसन्स कपको फाइनल १३ औं रह्यो । रेनुका त्यो पहिलो फाइनलकी पनि साक्षी थिइन्, अनि अहिलेको फाइनलको पनि । बंगलादेशमा खेल्दा उनी भर्खर १५ वर्षकी थिइन् ।

त्यसयता उनको खेल जीवनमा अनेक उतारचढाव आए । चोटसँग उनले गरेको संघर्षको कथा लामो छ । तर प्रत्येकपल्ट उनले आफूलाई अब्बल सावित गरेकी छन् । उनलाई त ‘कमब्याक क्विन’ भन्दा हुन्छ । त्यसैले धेरै महिला खेलाडीका लागि उनी प्रेरणा हुन सक्छिन् । उनी खासै धेरै चर्चामा पनि रहने खेलाडी होइनन् । तर नेपाली महिला फुटबलमा उनको यति धेरै योगदान छ कि उनलाई ‘अनसङ हिरो’ भन्दा पनि हुन्छ, गुपचुप गुन लगाइरहने ।म्यानमारविरुद्धको फाइनल हारपछि मिडियासामु प्रस्तुत हुँदा उनको स्वर खुबै मलिन थियो, निकै भावनात्मक थिइन् । भनिन्, ‘साहै नराम्रो लागिरहेको छ, देशका लागि खेलेको त्यत्रो वर्ष भयो, देशलाई स्वर्ण दिलाउने ठूलो रहर थियो, त्यसकै लागि खेलेका पनि थियौं । अहिलेसम्म पनि त्यो दिन सकेका छैनौं । धेरै मिहिनेत पनि गरेका थियौं ।’ तर त्यस्तो केही होइन । हुँदै होइन । उपाधि त एउटा मानक न हो । रेनुकाले नेपाली महिला फुटबलका लागि अहिलेसम्म जे जति गरिन्, त्यो अपूर्व छ ।रेनुकाका श्रीमान् अभिषेक घिसिङ लामाले फाइनलमा नेपालले नै जित्न आस राखेर रेनुकालाई उपहार दिने योजना बनाएका थिए । त्यो उपहार सुनको औंठी थियो । तर फाइनलमा नेपाल विजेता बनेन, म्यानमारले सबैलाई स्तब्ध बनाएको थियो । त्यसैले लामाले पनि त्यो औंठी रेनुकालाई दिने आँट गरेनन् । पछि धेरैको करकापमा त्यो औंठी लगाइदिए । सायद त्यसैले हुन सक्छ, फाइनलपछि सञ्चारमाध्यमसामु रेनुका अति धेरै भावनामा बगेकी पनि ।

रेनुकाको खेल जीवन बुझ्न रौतहट जानुपर्छ, चन्द्रपुर फर्किनुपर्छ । सबैलाई थाहा छ, यो त्यही ठाउँ हो, जसलाई नेपाली महिला फुटबल खेलाडीको ‘हब’ भनिन्छ । त्यहींबाट त हो, सबैभन्दा धेरै राष्ट्रिय खेलाडी निस्केका । अरू धेरैले जस्तो उनले पनि केटाहरूसँगै खेलेरै फुटबलमा पाइला हालेकी हुन् ।रेनुकाको उमेर सायद ११ वर्ष छेउछाउ हुँदो हो । चन्द्रपुरका फुटबल प्रशिक्षक शेरबहादुर दर्नाल घर–घर पुगेर महिला खेलाडी खोजी गरिरहेका थिए । सुरुमा त रेनुकालाई घरबाट खेल्न अनुमति पनि भएन । पछि रोएरै भए पनि खेल्न जान थालिन् । बिस्तारै परिवारको पनि सहयोग हुन थाल्यो । रौतहटमै खेल्दै गर्दा राष्ट्रिय टिममा परिन् । राष्ट्रिय टिममा उनको यात्राले लगभग दुई दशक छोइसकेको छ ।

सन् २०१६ मै उनी नेपाली टिमको कप्तान भइसकेकी थिइन् । रेनुकालाई चोटले उत्तिकै दुःख दियो । दुई वर्षअघि हानचाउ एसियाली खेलकुदको तयारीका क्रममा घाँटीमुनिको हड्डीमा चोट लाग्यो । त्यही कारण उनी शल्यक्रियबाट गुज्रिनुपर्‍यो । धेरै खेल गुमाइन् ।

त्यसपछि उत्तिकै मिहिनेत गर्दै राष्ट्रिय टिममा फर्किइन् तर नियमित स्थान पाउन सकिनन् । प्रशिक्षकबाट पनि सक्दो साथ पाइनन् । अहिलेका प्रशिक्षक राजेन्द्र तामाङले पनि उनलाई दुई गुणा मिहिनेत गर्न भनेका थिए, किनभने नयाँ र युवा खेलाडीको बराबरी गर्न यत्तिको परिश्रम आवश्यक थियो ।

रेनुकाले यो काम पनि गरिन् । ‘अहिले त्यही मिहिनेतको फल पाएको जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘जति बेला चोटबाट मुक्त भएर टिममा फर्कें र नियमित अवसर पाइनँ, त्यति बेला सोचेकी थिएँ, अब मेरो खेल जीवन टुंगिनेछ । अब खेल्न सक्दिनँ होला । खेल्न नसकेर नै प्रशिक्षकले पनि मौका नदिएको जस्तो लागेको थियो । तर होइन रहेछ । प्रशिक्षककै भनाइअनुसार मिहिनेत गरें र खेलें पनि ।’

घरेलु फुटबलमा उनी एपीएफबाट खेल्छिन् । केही समय अगाडि सकिएको एन्फा वुमेन्स लिगमा एपीएफ नै च्याम्पियन भएको थियो । त्यसमा एक खास खेलाडीको धेरै योगदान थियो भने त्यो रेनुकाको पनि थियो ।

एपीएफका प्रशिक्षक जीवेश पाण्डे उनलाई नेपाली महिला फुटबलकै अब्बल दर्जाकी खेलाडी मान्छन् । ढिलो–चाँडो नेपालले महिला फुटबलमा पनि कुनै ठूलो सफलता चुम्ने नै छ । जुन दिन त्यो समय आउनेछ, रेनुका जस्ता खेलाडीले दिएको योगदान कसैले बिर्सन सक्ने छैनन् ।

Sharing Is Caring:

Leave a Comment