महिला राष्ट्रिय लिगमा त्रिभुवन आर्मीको जित

Dipa Bhatt

२०८१ पुष १८ गते

१८ पुस, काठमाडौं । एन्फा महिला राष्ट्रिय लिगअन्तर्गत बिहीबारदेखि सुरू भएको अन्तिम चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले जित हात पारेको छ ।

विमला चाैधरीको दुई गोल मद्दतमा आर्मीले सर्लाहीको बागमती युथ क्लबलाई २-० ले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विमलाले २६ औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिईन् । विमलाले नै ६३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारिन् ।

खेलमा आर्मीले गोल गर्ने अन्य अवसरहरू बनाएको भएपनि बागमतीकी गोलकिपर सुजाता तामाङले बचाउ गरेकी थिइन् ।

बागमतीले भने आर्मीको पोष्टमा कुनै आक्रमण गर्न सकेन ।

जितपछि आर्मीका प्रशिक्षक कृष्ण सिंह ठगुन्नाले ठूलो घर बनाउने सपनामा इटा थप्ने सुरुवात भएको बताए । ‘गेम नहुँदा पनि हामी दैनिक दुई पटक ट्रेनिङ गर्छौँ । त्यैले एउटा इटा थपेको महसुस भएको छ ।’ उनले भने ।

उनले ट्रेनिङ भएपनि म्याच एक्सपोजर नहुँदा खेलमा केही असर परेको बताए । ‘मुख्यगरी ट्रेनिङ भयो तर म्याच एक्सपोजर भएन । जंगलमा टाइगर एकछिन शिकार गर्न नपाएपछि बिर्सेको जस्तो हुन्छ तर जसरी पनि उसले शिकार गरिछाड्छ ।’

ठगुन्नाले आर्मी उपाधिको दाबेदार रहेको र विस्तारै लय लिने बताए । ‘पहिलो खेल अली गाह्रै हुन्छ । तर हामी आफ्नो लय पक्रन्छौँ । विपक्षीहरु हेर्दा हामी उपाधि दाबेदार हौँ ।’ उनले भने ।

यसै खेलबाट आर्मीकी पुनम जर्घा मगरले पनि कमब्याक गरेकी छन् । उनले बागमती विरुद्ध आर्मीको कप्तानी समेत गरेकी थिइन् । चोट र शान्ति मिसनका कारण पुनम लामो समय मैदान बाहिर थिइन् ।

प्रशिक्षक ठगुन्नाले पुनम अहिले लयमा रहेको र पहिला भन्दा राम्रो खेलिरहेको बताए ।

यस्तै बागमती युथ क्लबका प्रशिक्षक सुनिल कुमार श्रेष्ठले सकेसम्म आर्मीलाई रोक्ने र कम गोल खाने रणनीति रहेको र त्यसमा सफल भएको बताए । ‘लिगका लागि हाम्रो जम्मा १५ दिनको तयारी थियो । जुन टिम बनाएका थियौँ । आर्मीसँग राम्रो खेल्यौँ । म खुशी छु ।’

उनले लिगमा विदेशी खेलाडी नराख्ने र नेपाली खेलाडीहरुलाई अवसर दिने योजना रहेको बताए ।

कोशी प्रदेशले आर्थिक कारण देखाउँदै अन्तिम चरणको लिगमा सहभागि नभएपछि बागमतीले यसअघि लिगमा छैटौ भए पनि अन्तिम चरणमा खेल्ने मौका पाएको हो । यसमा आफ्नो टिम भाग्यमानी रहेको प्रशिक्षकले बताए ।

Sharing Is Caring:

Leave a Comment