२०८१ पुष १८ गते
१८ पुस, काठमाडौं । सन् २०२५ को पहिलो खेलमा आर्सनलले ब्रेन्टफोर्ड विरुद्ध पुनरागमन जित निकाल्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ ।
बुधबार राती भएको खेलमा आर्सनलले एक गोलले पछि परेको स्थिती उल्टाउँदै ब्रेन्टफोर्डलाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो ।
ब्रायन एमबेउमोले खेलको १३औं मिनेटमै गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । तर उक्त अग्रता लामो समय टिकेन । गाब्रीएल जेससले २९औं मिनेटमा आर्सनलका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफमा बर्सनलले दुई गोल थप्यो । ५०औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि नै गाब्रीएल मार्टिनेलीले गोल गर्दै बर्सनलको अग्रता ३-१ बनाएका थिए ।
जितपछि १९ खेलबाट ३८ अंक जोडेर बर्सनल दोस्रो स्थानमा उक्लेको छ । नटिङहम फरेस्टलाई १ अंकले पछि पारेको आर्सनल शीर्ष स्थानको लिभरपुल भन्दा ६ अंकले पछि छ । लिभरपुलले एक खेल कम खेलेको छ ।