मदन भण्डारी गोल्डकप भलिबल : नेपाल प्रहरीको विजयी सुरुवात

Dipa Bhatt

२०८१ पुष १७ गते

१७ पुस,बुटवल । मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

बुटवलको रामनगर खेलमैदानमा बेस्ट अफ फाइभका आधारमा खेलाइएको खेलमा पुलिसले आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई ३–१ सेटले जितेको हो ।

पुलिसले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र चौथो सेट २५– १८ ले आयोजकलाई जितेको थियो ।

तेस्रो सेटमा भने आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमीले पुलिसलाई ३४–३२ ले पछाडि पार्दै जित निकालेको थियो ।

तीन विभागीय र भारतको एक गरी ८ टिम सहभागी प्रतियोगितामा भोलि बिहीबार तीन खेल हुँदैछन् ।

पहिलो खेल बिहान १० बजेदेखि त्रिभुवन आर्मी र भारतीय गुजरात स्टेट भलिबल एशोसिएसनबीच हुने एकेडेमीकी भलिबल विभाग प्रमुख चन्द्रवन्दना राईले बताइन् ।

दोस्रो खेल रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिबल क्लब रुपन्देहीबीच हुनेछ भने तेस्रो खेल सशस्त्र प्रहरी बलको एपीएफ क्लब र गल्कोट भलिबल क्लब बागलुङबीच हुनेछ ।

२४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ७ लाख, उपविजेताले ३ लाख ५० हजार, तेस्रोले एकलाख ७५ हजार, सान्त्वना हुने टिमले एक लाख तथा विधागततर्फ उत्कृष्ट खेलाडीहरुले प्रति खेलाडी २५ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने एकेडेमीका सचिव अमृता अनमोलले बताइन् ।

Sharing Is Caring:

Leave a Comment