यस्तो छ सन् २०२५ मा नेपालले भाग लिने अन्तर्राष्ट्रिय खेलकुद, कस्तो होला प्रदर्शन?

Dipa Bhatt

२०८१ पुष १७ गते 

१७ पुस, काठमाडौं । अंग्रेजी वर्ष २०२४ लाई बिदा गर्दै नयाँ वर्ष २०२५ सुरू भइसकेको छ । नयाँ वर्ष २०२५ मा नेपाली खेलकुदले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउनेछ ।

सन् २०२४ मा नेपालको पुरुषको सिनियर र जुनियर टिमले विश्वकप खेल्यो । यस वर्ष नेपालको महिला जुनियर टोलीले यू-१९ विश्वकप खेल्दैछ ।

यस्तै सिनियर पुरुष टोलीले आईसीसी टी२० विश्वकपको एसिया तथा इस्ट प्यासिफिक एसिया छनोट खेल्दैछ । क्रिकेटमा आइसीसी लिग टु का सिरिज देखि अन्य खेलहरु पनि हुनेछन् ।

यसैगरी फुटबलमा पुरुष टोलीले एसियन कप छनोट खेल्दैछ । पुरुष टोलीले साफ च्याम्पियनसिप पनि यसै वर्ष खेल्दैछ । फुटबलको फ्रेन्चाइज लिग तथा पुरुष भलिबलको लिग पनि २०२५ मै हुनेछ ।

यसबाहेक भलिबल र बास्केटबलदेखि अन्य विभिन्न खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र नेपालमै आयोजना हुने तालिका पनि छ ।

क्रिकेटमा जुनियर विश्वकप देखि लिग टु सम्म

सन् २०२४ मा निकै व्यस्त भएको नेपाली क्रिकेट टोलीको व्यस्तताले २०२५ मा पनि निरन्तरता पाउनेछ । यस वर्ष नेपालको महिला यू-१९ क्रिकेट टिमले मलेसियामा हुने आईसीसी यू-१९ महिला टी२० विश्वकप खेल्दैछ ।

एसिया छनोटको च्याम्पियन बन्दै नेपालले पहिलो पटक कुनै पनि महिला विश्वकपमा स्थान बनाएको थियो । यू-१९ महिला एसिया कप भने नेपालले डिसेम्बरमै खेलेको थियो । यू-१९ महिला टी-२० विश्वकपमा नेपाल, अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड एकै समूहमा छन् ।

त्यसैगरी पुरुष सिनियर टोलीले यस वर्ष आईसीसी टी-२० विश्वकप २०२६ को छनोट खेल्दैछ । यस पटक एसिया र इस्ट एसिया प्यासिफिकको संयुक्त छनोट प्रतियोगिता हुनेछ ।

एसियाका ७ र इस्ट एसियाका प्यासिफिकका २ गरी कूल ९ टिमले प्रतिस्पर्धा गर्नेछन् । यहाँबाट शीर्ष तीन टोलीले सन् २०१६ मा भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछन् ।

यस बाहेक नेपालले २०२५ मा लिग टु का तीन एकदिवसीय सिरिजहरु खेल्नेछ । २०२५ को मे महिनामा नेपाल र नेदरल्याण्ड्सले स्कटल्याण्ड गएर लिग टु सिरिज खेल्नेछन् । यस्तै अक्टोबरमा नेपाल, युएई र अमेरिकाबीचको लिग टु सिरिज युएईमा हुनेछ ।

नेपालले नोभेम्बरमा लिग टु को सिरिज आफैं आयोजना गर्नेछ जहाँ दुई चिरपरिचित प्रतिद्वन्दीह युएई र ओमान आउनेछन् ।

फुटबलमा एसियन कप छनोट

फुटबलमा नेपालले वर्ष २०२५ मा एएफसी एसियन कप छनोटको तेस्रो चरणका खेलहरु खेल्नेछ । तेस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ । नेपालमा रहेको समूहमा भियतनाम, मलेसिया र लाओस छन् । छनोटका खेलहरु मार्चदेखि सुरु हुनेछन् ।

नेपालले पहिलो खेल मार्च २५ मा घरेलु मैदानमा मलेसियासँग खेल्ने तालिका छ । तर दशरथ रंगशालमा नेपालले उक्त खेल खेल्ने/नखेल्ने अन्यौल भने कायमै छ । किनभने विश्वकप र एसिया कपको दोस्रो चरणको छनोटमा पनि नेपालले बहराइन र युएईविरुद्धको होम म्याच ‘न्युट्रल भेन्यू’मा गएर खेलेको थियो ।

होम एण्ड अवेका आधारमा खेलिने तेस्रो चरणको छनोटका ६ मध्ये ५ खेल २०२५ मै हुनेछ । जसमा नेपालले मलेसिया र भियतनामसँग (अक्टोबर) घरेलु मैदानमा खेल्ने तालिका छ ।

यस्तै लाओससँग (जुन), भियतनामसँग (अक्टोबर) र मलेसियासँग (नोभेम्बर) मा अवे मैदानमा खेल्ने तालिका छ । समूहको अन्तिम खेल नेपालले सन् २०२६ मार्च मा लाओससँग घरेलु मैदानमा खेल्ने तालिका छ ।

एसिया कप छनोटबाहेक यस वर्ष पुरुष फुटबल टिमले साफ च्याम्पियनसीप खेल्नेछ । पछिल्लोपटक २०२३ मा भारतमा भएको साफ च्याम्पियनसिपको अबको संस्करण यसै वर्ष हुने छ यद्यपी मिति र आयोजक देशको घोषणा भने हुन बाँकी छ ।

नेपालको आयोजनामा फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रङ्गशालामा नेपाल, किर्गिस्तान, लेबनान र म्यानमारको महिला फुटबल टोली बीचमा महिला फुटबल प्रतियोगिता पनि हुनेछ ।

यसैगरी साफ स्तरमै नेपालले पुरूष र महिलाको उमेर समूहका विभिन्न प्रतियोगिता खेल्ने तालिका छ ।

त्यस्तै नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबल प्रतियोगिताको तेस्रो संस्करण पनि यही वर्ष मार्च २९ देखि सुरु गर्ने तयारी छ ।

फुटबलसहित भलिबल र कबड्डीको पुरुष फ्रेन्चाइज लिग पनि गर्ने तयारी छ । नेपाल कबड्डी लिग (एनकेएल) २०२५ जनवरी मध्यबाट सुरु हुनेछ भने नेपाल भलिबल लिग (एनभीएल) २०२५ मार्च-अप्रिलमा गर्ने तयारी छ ।

क्रिकेट र फुटबलसँगै वर्ष २०२५ मा नेपालका अन्य खेलको पनि अन्तर्राष्ट्रिय सहभागिता हुनेछ । नेपालको राष्ट्रिय खेल भलिबलले पनि यस वर्ष काभाको प्रतियोगिताहरु खेल्नेछन् ।

यस्तै बास्केटबल लगायत अन्य समूहगत खेल तथा एथ्लेटिक्स पौडी बक्सिङ कराते तेकवान्दो उसु लगायत अन्य व्यक्तिगत खेलहरुको पनि २०२५ मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाल सहभागी हुनेछ ।

Sharing Is Caring:

Leave a Comment