२०८१ पुष १६ गते
१६ पुस, काठमाडौं । आगामी माघ २३ गतेदेखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने ई–प्लानेट नेशनल हाइस्कुल च्याम्पियनसीपका लागि कोशी प्रदेशबाट आस्था कलेज छनोट भएको छ ।
इटहरीस्थित जनता क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा आस्था कलेजले सुष्मा गोदावरीलाई ७ विकेटले पराजित गर्यो । सुष्मा गोदावरीले दिएको ६३ रनको लक्ष्य आस्थाले ५.४ ओभरमा ३ विकेट मात्र गुमाएर भेटायो । आस्थाको लागि भुपाल दंगालले मात्र १२ बलमा ३२ रन बनाए भने सौजन घिमिरेले ११ बलमा १४ रन बनाए । गोदावरीका नाजिर आलमले २ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरको सुष्मा गोदावरीले निर्धारित १० ओभरमा ६२ रन बनाउँदा सबै विकेट गुमायो । उसको लागि नजिर आलमले २० तथा अन्जुल मेहताले १६ रन बनाए । आस्थाको बलिङमा प्लेयर अफ द फाइनल घोषित सौजन घिमिरेले ३ विकेट लिए ।
छनोटको उपाधिसहित आस्थाले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो । कोशी प्रदेश छनोट प्रतियोगितामा कुल ६ टिम सहभागी थिए । सुष्मा गोदावरी, कस्तुरी कलेज, आस्था कलेज, इटहरी नमुना, नवादिप एकेडेमी, मेरील्याण्ड कलेज सहभागी थिए ।
यस अघि सम्पन्न बागमती प्रदेश छनोटको उपाधि जित्दै अर्किड कलेजले काठमाडौँ यात्रा तय गरिसकेको छ । प्रतियोगिताको आगामी छनोट प्रतियोगिता मधेश प्रदेशमा पुष १८ गते जनकपुरमा सुरु हुनेछ ।
त्यसपछि लुम्बिनी छनोट बुटवलमा पुष २३ गतेबाट, गण्डकी छनोट पोखरामा पुष २६ गतेबाट, दोस्रो बागमती प्रदेश छनोट काठमाडौँमा माघ ३ गतेबाट, कर्णाली छनोट सुर्खेतमा माघ १० गतेबाट, सुदूरपश्चिम छनोट धनगढीमा माघ १७ गतेबाट हुनेछ ।
माघ २३ देखि २६ गते राष्ट्रिय फाइनल काठमाडौंमा आयोजना हुने तालिका छ ।