२०८१ पुष १६ गते
सेतो जर्सी र रातो बलको प्रयोग गरिने यो प्रतियोगिता नेपालमा निकै कम संख्यामा भएको फर्स्ट क्लास क्रिकेटको फर्म्याटमा हुनेछ । यो आयोजनाले खेलाडीहरूले फर्स्ट क्लास क्रिकेटको अनुभव लिन पाउने छन् ।
१४ पुस, काठमाडौं । ‘टेष्ट मान्यता’ नेपाली क्रिकेटको सर्वाधिक ठूलो सपना हो । लाखौँ नेपाली क्रिकेटप्रेमीको प्रतीक्षा हो । तर, अहिलेका लागि त्यो निकै पर देखिन्छ । किनभने, एकदिवसीय क्रिकेटमै नेपाली ब्याटिङ धर्मराउने गरेको छ ।
त्यसो त, नेपालले एकदिवसीय मान्यता पाएकै पनि धेरै वर्ष बितेको छैन । मान्यता पाएयता पनि टेष्ट मान्यताप्राप्त बलिया राष्ट्रहरूसँग प्रशस्त अभ्यासको मौका मिलेको छैन । त्यसैले पनि यदाकता ठूला र बलिया राष्ट्रहरूको सामना गर्ने मौका मिल्दा नेपाली ब्याटिङ धर्मराउने गरेको छ । यसको मुख्य कारण हो, बहुदिवसीय खेलका अभ्यासको अभाव ।
यस्तोमा २१ पुसदेखि ३ माघसम्म नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको दुई दिवसीय जय ट्रफी एलिट कपलाई बहुदिवसीय खेलको अभ्यासको एउटा मौकाको रूपमा हेरिएको छ ।
दुईदिवसीय क्रिकेट प्रतियोगिताको आयोजनाका कारण खेलाडीहरूले लामो समयपछि फर्स्ट क्लास क्रिकेटको अनुभव लिन पाउने भएका छन् ।
मधेश प्रदेशको जनकपुर र वीरगन्जमा आयोजना हुने जय ट्रफी एलिट कपमा गत वर्षको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा पर्न सफल टोलीबीच सिंगल राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पीएम कप च्याम्पियन नेपाल पुलिससहित त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश टोलीबीच प्रतिस्पर्धा हुनेछ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा पीएम कप खेलेको एपीएफ भने जय ट्रफीमा हुने छैन् ।
सेतो जर्सी र रातो बलको प्रयोग गरिने यो प्रतियोगिता नेपालमा निकै कम संख्यामा भएको फर्स्ट क्लास क्रिकेटको फर्म्याट हुनेछ ।
नेपाली क्रिकेट टोलीले सन् २०१९ मा नेपालमै मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग तीनदिवसीय क्रिकेट खेलेको थियो जसलाई फर्स्ट क्लासको मान्यता दिइएको थियो । हाल राष्ट्रिय टोलीको सदस्य रहेका कप्तान रोहित पौडेलसहित सोमपाल कामी, सन्दीप लामिछाने, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित राजवंशी नेपाली टोलीमा थिए ।
त्यसअघि नेपालले सन् २०१६ मा ‘इंग्ल्यान्ड टूर’का बेला एमसीसीसँग लड्र्समा सेतो जर्सी लगाएर खेले पनि त्यो ५० ओभरको खेल थियो । सन् २०१९ पछि अन्तर्राष्ट्रिय र घरेलु कुनै पनि स्तरमा फर्स्ट क्लासका खेलहरू भएका छैनन् ।
विगतलाई हेर्दा नेपालले सन् २००५ मा यूएईसँग इन्टरकन्टिनेन्टल कपमा फर्स्ट क्लास क्रिकेट खेलेको थियो । त्यसपछि भने नेपाल इन्टरकन्टिनेन्टल कपमा छनोट हुन सकेन र फर्स्ट क्लास क्रिकेट खेल्न लामो समय कुर्नुपर्यो ।
त्यसपछि नेपालले दुई दिवसीय क्रिकेटहरू खेले पनि त्यसले फर्स्ट क्लास मान्यता पाएको थिएन । सन् २००६ को इन्टर कन्टिनेन्टल कप छनौट स्वरूप रहेको च्यालेन्ज म्याचमा नेपालले नामिबियासँग खेलेको थियो । तर, उक्त खेल ड्र भएपछि नेपाल इन्टर कन्टिनेन्टल कपमा छनौट हुन सकेन । नामिबियाले इन्टर कन्टिनेन्टल कप खेलेको थियो ।
घरेलु क्रिकेटमा यस्तो प्रतियोगिता धेरै समयपछि हुन लागेको क्यान प्रवक्ता छुम्बी लामाले बताए । यस्तोमा लामो समयपछि क्यानले बहुदिवसीय क्रिकेट आयोजना गर्न लाग्दा खेलाडीहरूमा उत्साह छाएको छ ।
क्यानका प्रवक्ता लामाले बहुदिवसीय क्रिकेट प्रतियोगिताले नेपाली क्रिकेट अन्तर्राष्ट्रियस्तरमा अगाडि आउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
‘डेज क्रिकेट भनेको एउटा मेरूदण्ड हो, धेरै वर्षपछि प्रतियोगिता फेरि सुरू हुँदै गर्दा खेलाडीहरू पनि उत्साहित छन्,’ उनले अनलाइनखबरसँग सुनाए, ‘जसरी पनि गर्नुपर्छ भनेर क्यानले त्यसैअनुसार काम गर्दै आएको छ । यति मात्र नभएर निकट भविष्यमा महिला र पुरूषका प्रतियोगितासँगै अन्य कार्यक्रमको पनि तयारी गरिरहेको छ ।’
यू–१९ राष्ट्रिय पुरुष टिमका मुख्यप्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचनले जय ट्रफी एलिट कप दुई दिवसीय हुनु धेरै राम्रो भएको प्रतिक्रिया दिए । ‘यो एकदमै राम्रो हो । रेड बल क्रिकेट त हराइसकेको जस्तो नै भाथ्यो । अब सुरु हुन लागेको छ, जुन निकै सकारात्मक छ,’ गौचनको भनाइ छ, ‘क्रिकेटको असली मज्जा नै रेल बलमा छ ।’
यू १९ राष्ट्रिय टिमका प्रशिक्षकसमेत रहेका गौचन टेष्ट मान्यता प्राप्त राष्ट्रहरूले ‘रेड बल क्रिकेट’लाई नै प्राथमिकता दिने गरेको बताउँछन् ।
‘आगामी दिन ‘टेष्ट प्लेइङ कन्ट्री’ बन्ने हो ‘ग्रासरुट’देखि नै ‘रेड बल क्रिकेट’लाई प्राथमिकतामा राख्नुपर्छ,’ उनी भन्छन् । अहिले चार टिमको मात्र सहभागितामा हुन लागेको प्रतियोगिता आगामी दिनमा अझै धेरै टिम सहभागी गराएर निरन्तर संचालन हुनु पर्ने उनको सुझाव छ ।
टिम कप्तानका प्रतिक्रिया
बहुदिवसीय प्रतियोगिताले टेष्ट मान्यता प्राप्त गर्ने सपनाको ढोका खोल्न सहयोग पुग्ने धेरै खेलाडीको विश्वास छ । किनभने, बहुदिवसीय प्रतियोगिताको अभ्यासले टोलीको समग्र प्रदर्शन (ब्याटिङ, बलिङ र फिल्डिङ) मा धेरै सहयोग पुग्ने खेलाडी बताउँछन् । त्यसैले जय ट्रफीको आयोजनाले धेरै खेलाडीमा उत्साह जगाएको छ ।
जय ट्रफीका लागि बागमती प्रदेशको कप्तान चयन भएका सन्दीप लामिछानेले यो प्रतियोगिता खेल्न उत्साहित रहेको बताए । यो प्रतियोगिता सबै क्रिकेटरका निम्ति राम्रो अवसर भएको उनको भनाइ छ । ‘जय ट्रफी यसमा सहभागी टिमको लागि मात्र नभएर अन्य खेलाडीहरूको लागि पनि राम्रो अवसर हो,’ लामिछाने भन्छन् ।
क्यानले पछिल्लो समय नेपाली क्रिकेटको विकासका लागि गर्दै आएको कामको पनि सन्दीपले प्रशंसा गरे । सन्दीप भन्छन्, ‘एनपीएलले नै धेरै कुरा देखाइसकेको छ, सही ठाउँमा सही मान्छे भयो भने कतिको फरक पर्छ भन्ने कुरा देखिएको छ । पारस दाइलगायत क्यानका पदाधिकारीहरूको यो धेरै नै राम्रो प्रयास हो ।’
प्रतियोगितामा मधेश प्रदेशको टिमको नेतृत्व हरिशंकर साहले गर्दैछन् । पहिलोपटक घरेलु मैदानमा दुईदिवसीय क्रिकेट खेल्ने अवसरले आफूलाई उत्साहित बनाएको उनी बताउँछन् ।
‘म दुईदिवसीय क्रिकेट पहिलोपटक खेल्दै छु, सबैको लागि पहिलो अनुभव हुन सक्छ,’ उनी भन्छन्, ‘रेड बल क्रिकेट भनेको रियल क्रिकेट हो । रेड बल हेभी हुन्छ, स्विङ लामो समयसम्म हुन्छ । त्यहीभएर यो खेलाडीहरूको लागि एउटा परीक्षा जस्तै हो । यसले खेलाडीहरूलाई लामो समयसम्म खेल्ने बानी गराउँछ । त्यसकारण धेरै फाइदाजनक छ ।’
सीमित ओभरमा गरिएजति लगानी बहुदिवसीय क्रिकेटमा गर्ने हो भने नेपाली क्रिकेटले अझै सफलता आर्जन गर्ने उनको विश्वास छ ।
अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपाल पुलिस क्लबका नियमित कप्तान हुन् । तर, उनले जय ट्रफी मिस गर्ने छन् । किनभने, सोही समयमा यूएईमा आयोजना हुने इन्टरनेशनल लिग टी–२० खेल्न उनी त्यता जानेछन् ।
यद्यपि, दुईदिवसीय प्रतियोगिता नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण हुने उनको भनाइ छ । ‘म सहभागी हुन नपाए पनि निकै उत्साहित छु,’ उनी भन्छन्, ‘यो प्रतियोगिताले सबै खेलाडीहरूलाई फाइदा पुर्याउनेछ, एकदिवसीयका लागि पनि सजिलो हुनेछ ।’
नेपाललाई भविष्यमा टेस्ट राष्ट्रको मान्यता दिलाउन यस्ता प्रतियोगिता आयोजना हुनुपर्ने बागमती प्रदेशका कप्तान लामिछानेको धारणा छ । ‘सबै कुरा एकैपटक प्राप्त हुनेत होइन, यो सानो पाइला अगाडि बढ्दै छ भनौं’ सन्दीप भन्छन्, ‘टेस्ट मान्यता पाउने भनेको एउटा सपना नै हो । नेपाली क्रिकेट विस्तारै त्यसतर्फ अघि बढ्दै छ । यस्ता प्रतियोगिता भइरहे भविष्यमा टेस्ट मान्यता पाउनेछौं भन्ने विश्वास छ ।’
मधेशका कप्तान हरिशंकर पनि यसमा विश्वास राख्छन् । ‘आगामी वर्षहरूमा पिएम कपका १० वटै घरेलु टिम खेल्न मिल्ने गरी व्यवस्था बनाउनु पनि आवश्यक छ । हरेक प्रदेशमा त्यसैअनुसारको संरचना बनाउने कुरामा पनि ध्यान दिनुपर्छ,’ उनी भन्छन् ।
पूर्वाधार विकासको लक्ष्य
जय ट्रफीमार्फत डेज क्रिकेट खेलाउने मात्र नभई यसमार्फत खेल पूर्वाधारको विकास गर्ने लक्ष्यसमेत क्यानले राखेको छ । यस्ता प्रतियोगिताले नेपाली क्रिकेटको पूर्वाधारहरूको विकासमा पनि मद्दत पुग्ने क्यान प्रवक्ता छुम्बी लामाले सुनाए ।
‘हामीसँग सीमित पूर्वाधार मात्र छन् । सातैवटा प्रदेशमा पूर्वाधार बनाउने उद्देश्य बमोजिम कामहरू अगाडि बढाउँदै आएका छौं । त्यसैअनुरूप यो एलिट कप पनि काठमाडौंबाहिर नै आयोजना गरेका हौं,’ लामा भन्छन् ।
एलिट कप काठमाडौंबाहिर लैजानुमा पूर्वाधारको विकासको लक्ष्य मात्र होइन, मधेश प्रदेशमा क्रिकेटको क्रेज पनि हो । भर्खरै सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टिम जनकपुर बोल्ट्सले मधेश प्रदेशकै प्रतिनिधित्व गर्छ । च्याम्पियन बनेपछि जनकपुरधाममा गरिएको एनपीएलको ट्रफी परेडको उपस्थितिले मधेश प्रदेशमा क्रिकेटको अद्भूत क्रेज देखाएको थियो ।
क्यानका प्रवक्ता लामा पनि यो यथार्थ भएको बताउँछन् । ‘मधेशमा अहिले क्रिकेटको माहोल नै छुट्टै छ, एनपीएलको उपाधि पनि मधेशकै टिमले जित्यो,’ उनी भन्छन्, ‘मधेशमै एलिट कप भावनासँग पनि जोडिएको कुरा पनि भयो । यस प्रकारको डेज क्रिकेटले आगामी दिनमा नेपाली क्रिकेटलाई माथि पुर्याउन पनि निकै मद्दत गर्छ ।’
बागमती प्रदेशका कप्तान लामिछाने यो प्रतियोगिताले एक ठाउँमा मात्र केन्द्रित नेपाली क्रिकेटलाई विस्तार गर्न पनि ठूलो मद्दत पुग्ने बताउँछन् । ‘पछिल्लो समय काठमाडौंमा मात्र सीमित रहेको नेपाली क्रिकेट अब फैलँदै गएको छ । खेलाडी मात्र नभएर यो क्रिकेटका शुभचिन्तक र समर्थक सबैका लागि निकै नै उत्साहपूर्ण कुरा पनि हो,’ सन्दीप भन्छन् ।
‘डेज क्रिकेट’ टेष्ट मान्यताको आधार
नेपाल टेष्ट मान्यता प्राप्तिका लागि प्रयासरत छ । क्यान प्रवक्ता लामा पनि यो प्रतियोगिता महत्वपूर्ण रहेको बताउँछन् । त्यसका लागि सरकारले पनि आवश्यक भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
‘टेष्ट मान्यता पाउन र ओडिआईभन्दा माथि जान डेज क्रिकेट खेल्नुपर्ने हुन्छ । पूर्वाधारका हिसाबले सरकारले पनि सबै क्षेत्रमा अझै व्यवस्थित तरिकाले विकासका कामहरू अगाडि बढाउनुर्छ भन्ने हाम्रो बुझाइ छ,’ उनी भन्छन् ।
टेस्ट लगायतका खेलहरू सेतो जर्सी लगाएर रातो बलले खेलिन्छ । नेपालले टेस्ट मान्यता पाइसकेको छैन । त्यसका लागि अझै केही समय कुर्नु नै पर्छ । टेष्ट खेल्ने नेपालको सपना बाँकी छ । तर, फस्ट क्लास क्रिकेटमा नेपालले सेतो जर्सी लगाएर रातो बल खेलिसकेको भएपनि अब हुन लागेको घरेलु दुई दिवसीय प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा राम्रो योगदान दिने आशा गर्न सकिन्छ ।