लिभरपुलका गोलरक्षक एलिसनले भने- अब आफ्नै एउटा नयाँ इतिहास बनाउनुपर्छ

Dipa Bhatt

२०८१ पुष १४ गते 

१४ पुस, काठमाडौं । लिभरपुलका गोलरक्षक एलिसनले अब पहिलेको टिमसँग तुलना नगरी टिमको आफ्नै एउटा नयाँ इतिहास बनाउनुपर्ने कुरामा जोड दिएका छन् । नयाँ प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा लिभरपुल उत्कृष्ट लयमा रहिरहँदा एलिसनले टिमका अन्य सदस्यहरूलाई यस्तो आग्रह गरेका हुन्  ।

लिभरपुल हाल प्रिमियर लिगको शीर्षस्थानमा छ । एक खेल बढी खेलेको आर्सनलभन्दा लिभरपुलको ६ अंक बढी छ। सन् २०१९-२० मा जोर्गन क्लपको प्रशिक्षणमा प्रिमियर लिगको उपाधि जित्दा पनि एलिसन लिभरपुलकै टिममा थिए । लिभरपुलले त्यतिबेला ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको थियो ।

‘त्यतिबेला टिम निकै विशेष नै थियो । हामीले ठुलो उपलब्धि हासिल गर्‍यौं, त्यो उपाधि धेरै समयपछि आएको थियो’ एलिसनले भने, ‘त्यसअघि हामीले एकसाथ मिलेर च्याम्पियन्स लिग पनि जितेका थियौं ।’

‘मलाई खेलाडीहरू देखेर खुसी लाग्छ, हामीसँग केही विशेष गर्ने क्षमता छ, सबैभन्दा महत्वपूर्ण कुरा त्यहाँ प्रतिबद्धता छ जुन कुरा जितका लागि निकै आवश्यक पनि छ’, उनले अगाडि भने ।

२०१९-२० को प्रिमियर लिग जित्दा टोलीमा रहेका खेलाडीमध्ये ९ जना अहिले पनि लिभरपुलको टोलीमा छन् जसमध्ये एलिसन पनि एक हुन् । अन्य खेलाडीमा गोलरक्षक काओमिन केलेहर, डिफेन्डर ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड, भर्जिल भान डाइक, जोसुआ गोमेज र एन्ड्रयू रोबर्टसन, मिडफिल्डर हार्वे एलियट र कर्टिस जोन्स तथा फरवार्डमा मोहम्मद सालाह छन् ।

लिभरपुलले मिडमा र फरवार्डमा केही परिवर्तन भने गरेको छ जहाँ रायन गेभेनबर्च, एलेक्सिस माकएलिस्टर, लुइस डियाज, डार्विन नुनेजजस्ता खेलाडीहरू भित्र्याएको छ । प्रशिक्षक स्लट पनि रणनीतिक रूपमा क्लपभन्दा फरक देखिएका छन् ।

एलिसनले पहिलेको भन्दा थप फेरिएको र बलियो अवस्था रहेको बताउँछन् । ‘केही खेलाडीहरू अहिले पनि खेल्छन् तर पहिलेभन्दा हाम्रो तरिका फरक छ, अहिले बल पोसेसनमा हामी अझै निखारिएका छौं । हामीमा अझै तीव्रता थपिएको छ’, उनले भनेका छन् ।

लिभरपुलले ३० वर्षको लामो पर्खाइपछि प्रिमियर लिग जितेको भएपनि त्यसपछिका चार सिजन लगातार म्यान्चेस्टर सिटीले उपाधि जितेको थियो । गत सिजन सिटीभन्दा लिभरपुल १० अंकले पछाडि थियो ।

एलिसन पहिलेको टिमसँग तुलना गर्न नहुने भन्दै अब आफ्नै नयाँ इतिहास बनाउने कुरामा जोड दिएका हुन् । ‘हामीले यो सिजन, यो समूहबाट आफ्नै एउटा इतिहास बनाउनु पर्छ’ उनले भनेका छन् ।

Sharing Is Caring:

Leave a Comment