२०८१ पुष १४ गते
१४ पुस, काठमाडौं । दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसीप २०२३-२५ को फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । आइतबार सम्पन्न पाकिस्तानसँगको पहिलो टेस्ट जितेसँगै दक्षिण अफ्रिका पहिलोपटक टेस्ट च्याम्पियनसीपको फाइनलमा पुगेको हो ।
दक्षिण अफ्रिकाले पाकिस्तानलाई २ विकेटले हराएको हो । दोस्रो इनिङमा पाकिस्तानबाट प्राप्त १४८ रनको लक्ष्य दक्षिण अफ्रिकाले चौथो दिनको अन्तिम सेसनमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।
दक्षिण अफ्रिकाको जितमा कप्तान टेम्बा बाभुमाले सर्वाधिक ४० रन बनाए भने एइडेन मार्करमले ३७ रन बनाए । कगिसो रबाडाले अविजित ३१ तथा मार्को यान्सेनले अविजित १६ रन बनाए ।
त्यसअघि पाकिस्तानले पहिलो इनिङमा २११ रन बनाएपछि दोस्रो इनिङमा दक्षिण अफ्रिकाले ३०१ रन बनाउँदै अलआउट भएको थियो । ९० रनले पछि परेको अवस्थाबाट २३७ रन जोड्दै पाकिस्तानले १४७ रनको अग्रता बनाएर १४८ रनको लक्ष्य दिएको थियो ।
९९ रनमा ८ विकेट गुमाएर दबाबमा आएको दक्षिण अफ्रिकालाई रबाडा र यान्सेन मिलेर जित दिलाए । पाकिस्तानका मोहम्मद अब्बासले ६ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेन ।
अब अर्को फाइनालिस्ट अस्ट्रेलिया र भारतमध्ये एक हुनेछन् । अस्ट्रेलियाको सम्भावना बलियो छ । भारत र अस्ट्रेलियाबीच अहिले टेस्ट सिरिजअन्तर्गत चौथो खेल भइरहेको छ । भारतले अब एक खेल मात्र खेल्न बाँकी छ भने अस्ट्रेलियाले भारतसँग एक खेल र श्रीलंकासँग दुई खेल खेल्न बाँकी छ ।
वर्ल्ड टेस्ट च्याम्पियनसीप २०२३-२५ को फाइनल इंग्ल्याण्डको लर्ड्समा आगामी जुन महिनामा हुँदै छ । सन् २०१९ देखि सुरू भएको टेस्ट च्याम्पयनसीपमा हालसम्मका दुई संस्करणमध्ये न्युजिल्याण्ड र अस्ट्रेलियाले एक-एकपल्ट जितेका छन् ।