खस्कँदो प्रदर्शनबीच सिटीमा हालान्डको भविष्य कस्तो ?

Dipa Bhatt

१२ पुस, काठमाडौं । म्यानचेस्टर सिटीका नर्वेजियन फरवार्ड एर्लिङ हालान्डले पछिल्लो खेलमा क्लबका लागि राम्रो गर्न सकेका छैनन् । पछिल्ला ७ खेलमा उनले सबै प्रतियोगितामा गरेर १ गोल मात्र गरेका छन् । पछिल्ला चार खेलमा त उनी गोलविहीन नै छन् ।

हालान्ड मात्र नभएर उनको क्लब सिटी पनि इतिहासकै खराब फर्मबाट गुज्रिरहेको छ । सिटीले सबै प्रतियोगिता गरेर पछिल्ला १३ खेलमा १ जित मात्र निकालेको छ । प्रशिक्षक पेप ग्वार्डिओलाको सम्झौता नवीकरण गरेको समयदेखि सिटी ओरालो यात्रामा छ । यसले क्लबमा पेप र हालान्ड दुवैको अबको यात्रा अनिश्चित बनाएको छ ।

विशेषगरी पछिल्लो समयमा पेप र हालान्डबीच बढ्दो दरारका बिच फुटबल विश्लेषकहरूले सिटीमा हालान्डको भविष्यबारे टिप्पणी गर्न थालिरहेका छन् । यसैबीचमा उनी बार्सिलोना जान खोजिरहेको विषय पनि चर्चामा छ ।

सिटीले यो सिजनको सुरूवात राम्रो गरेको भएपनि त्यसपछि उसको फर्ममा नाटकीय रूपमा गिरावट आएको छ । पछिल्ला ९ प्रिमियर लिग खेलमा १ खेल मात्र जितेको सिटी हाल १८ खेलमा २८ अंकसहित सातौं स्थानमा छ ।

अप्रत्याशित खराब लयका कारण टिमको मनोबलमा मात्र असर गरेको नभई मुख्य खेलाडीहरूको भविष्यमै प्रश्न चिन्ह खडा गरेको छ । विशेषगरी हालान्डको अबको भविष्यका बारे चासोका साथ हेरिएको छ । उनी पछिल्लो समय सिटीको अवस्थाले झन् बढी निराश हुँदै गइरहेको बुझिएको छ ।

पछिल्लो फर्मबाट थकित हालान्डले स्पेनिस क्लब बार्सिलोनासँग पनि कुराकानी गरिरहेको विभिन्न रिपोर्टहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाइरहेका छन् । सिटीमा आफ्नो चमत्कारिक यात्रा सकाइसकेका हालान्डले पछिल्लो समय सम्झौता नवीकरणका विभिन्न प्रस्तावहरूलाई पनि अस्वीकार गर्दै आइरहेका छन् ।

बार्सिलोनाले पनि सिटीको हालको अवस्थाको फाइदा उठाउँदै केही खेलाडीहरू भित्र्याउन सक्ने संकेत गरिरहेको छ । हालान्डलाई प्रमुख प्राथमिकतामा राख्दै बार्साले आगामी सिजन हालान्डलाई अनुबन्ध गर्न सक्छ । एक स्पेनिस पत्रकारलाई उद्धृत गर्दै वर्ल्ड सोकर टकले लेखेको एक आर्टिकल अनुसार बार्सिलोनाका अध्यक्ष र व्यवस्थापन टिम हालान्डका प्रतिनिधिहरूसँग निरन्तर सम्पर्कमा रहेको र हालान्डलाई क्लबमा ल्याउन दृढ रहेको बुझिएको छ ।

हालान्डले प्रिमियर लिगमा हालसम्म १८ खेलमा १३ गोल गरेका छन् । जसमध्ये पनि सुरूवाती १० गोल उनले ५ खेलमै गरेका थिए । त्यसपछिका १३ खेलमा उनले ३ गोल मात्र गरेका छन् ।

Sharing Is Caring:

Leave a Comment